• मंसिर ८ २०८१, शनिबार

शिक्षकमा १२ प्रतिशतमात्रै उत्तीर्ण, पूर्ति भएन माग संख्या

बैशाख २१ २०७९, बुधबार

काठमाडौं । शिक्षक सेवा आयोगले सञ्चालन गरेको माध्यमिक तह सामान्यतर्फको खुला प्रतियोगितात्मक परीक्षामा १२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् ।

न्यून सङ्ख्यामा परीक्षार्थी उत्तीर्ण भएपछि यस विषयमा विविध कोणबाट प्रतिक्रिया आउन थालेको छ । आयोगले माध्यमिक तहका लागि गत चैत १५ गते १४ विषयको परीक्षा सञ्चालन गरेको थियो । परीक्षाको नतिजा सोमबार साँझ प्रकाशित भएको हो ।

आयोगका अनुसार केही विषयमा माग गरेजति परीक्षार्थी पनि उत्तीर्ण भएका छैनन् । यो परीक्षामा उत्तीर्णले मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउँछन् ।

कुल सय पूर्णाङ्कमा उत्तीर्ण हुन न्यूनतम ५० प्रतिशत अङ्क ल्याउनैपर्छ । पहिलो चरणमै न्यून परीक्षार्थी उत्तीर्ण भएपछि केहीले परीक्षामा कडाइ भएको हुनाले यस्तो नतिजा आएको र अब विद्यालय तहमा क्षमतावान् शिक्षक आउँछन् भन्ने विश्लेषण गरेका छन् ।

केहीले भने शिक्षण पेसाप्रति नागरिकको रुचि घट्दै गएको हो कि भन्ने अनुमान पनि गरेका छन् । आयोगले यसै पटकदेखि परीक्षाको पाठ्यक्रमसमेत परिवर्तन गरेर पहिलो चरणको परीक्षामा उत्तीर्ण हुनेलाई मात्रै दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउने नीतिगत व्यवस्था गरेको हो ।

मुलुकभर माध्यमिक तहका लागि सबै विषयसहित एक हजार ५५२ जना कोटाका लागि आवेदन आह्वान गरेको थियो । परीक्षामा ३२ हजार ९७ जना सहभागी भएका थिए । जसमध्ये तीन हजार ८८८ जना उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको करिब १२ प्रतिशत मात्रै हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।