• मंसिर १३ २०८१, बिहीबार

कोरोना सङ्क्रमण दर बढ्न थाल्यो, सतर्कता अपनाऔँ : स्वास्थ्य मन्त्रालय

बैशाख १९ २०७९, सोमबार

काठमाडौँ। सरकारले कोरोना सङ्क्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका हुन्। उनले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताए ।

सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताए । सोमवार उनले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताए । सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिए ।

सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताए । यद्यपी यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन भने समय लाग्ने उनले बताए ।

सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनु पर्ने बताए । उनले समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिने बताए ।

सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रहसमेत गरे । उनले निर्वाचनमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्दा पनि सुरक्षित तरिकाले गर्न र मतदाताहरुलाई पनि सावधानी अपनाउन आग्रह गरे ।

सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरे । उनले कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाहरुले समयमै कोरोनाबिरुद्धको खोप लगाउन पनि अपिल गरे ।