• मंसिर ११ २०८१, मंगलवार

नालामा महालक्ष्मी जात्रा मनाइनुका पछाडीका किंवदन्तीहरु

बैशाख १८ २०७९, आईतवार

काभ्रेमा रहेका प्राचीन सात बस्तीहरु मध्ये त्यतिखेर सबै भन्दा पुरानो तथा व्यवस्थित बस्ती उग्रचण्डी नाला हो । यस बस्तीलाई नाला देश पनि भनिन्छ ।

देश बन्न त्यतिखेर बस्तीलाई पर्खालले घेरेको हुनु पर्ने, मनोरञ्जनको लागि डबलीहरु हुनु पर्ने, राज्य संचालन गर्न लायक हुनुपर्ने हुन्थ्यो । त्यस्तै खानेपानीको लागि ढुंगेधारा, जलद्रोणी, इनारहरु प्रसस्त हुनु पर्ने, बाटोघाटो व्यवस्थित हुनु पर्ने र मठमन्दिर पाटी पौवाहरु आदि भएको बस्तीलाई देश भनिन्थ्यो ।

वास्तवमा यी सबै प्रकृयाहरु पूरा भएका र नाला देशको आफ्नै मुद्रा पनि भएको इतिहास रहेको छ । नाला देश त्यतिखेरको सेरोफेरोमा सम्पन्न रहेको र काभ्रे जिल्लाकै उन्नत मानिन्थ्यो । यहाँ नेपालका प्रशिद्ध चार भगवती मध्ये एक उग्रचण्डी भगवती र नेपालकै चार प्रशिद्ध करुणामय मध्ये एक श्रुष्टीकान्त लोकेश्वर करुणामय रहेका छन् ।

यी दुवै मन्दिरका देवताहरुको जात्रा गर्ने परम्परा चलिआएको छ । तर यहाँको प्रशिद्ध जात्रा भने महालक्ष्मी देवताको जात्रा हरेक वर्ष बैशाख शुक्ल पक्षको द्धितीयादेखि शुरु भई पञ्चमीसम्म जम्मा चार दिन बडो धुमधामका साथ जात्रा मनाउने प्रचलन रहेको छ । नाला र ललितपुरको लुँबूँमा महालक्ष्मीको जात्रा सोही दिनमा गर्ने गरिन्छ । नाला महालक्ष्मीको जात्रा जम्मा चार दिनसम्म बडो हर्ष उल्लासका साथ गरिन्छ ।

पहिलो दिनको जात्रा :

महालक्ष्मी देवतालाई लक्ष्मी देवताको घरबाट निकाली ईपाटोलमा रहेको लक्ष्मी पाटीमा प्रर्दशन गरिन्छ । उक्त अवसरमा नालाबासीहरु सबैका घरबाट पुजा गरिन्छ । सोही दिन महालक्ष्मीलाई रथमा राखी ईपाटोलबाट लागन टोलहुँदै पोडेटोलबाट महादेव खोला (दुम्ब खुशी)मा लागि त्यहाँ पुजा आज गरेर फर्काएर लगन टोलको भगवती मन्दिर छेउको सोह्रखुट्टे पाटीमा राखिन्छ । यो कार्य बैशाख शुक्ल पक्ष द्धितीयाको दिनमा हुन्छ ।

दोस्रो दिनको जात्रा :

बैशाख शुक्लपक्ष तृतीयाको दिन महादेव र पार्वतीको बिहे गरेको दिन मानिन्छ । सोही दिन लगनटोल भगवती मन्दिर नजिकै रहेको डबलीमा महालक्ष्मीलाई ईही (बेल विवाह) गरिन्छ । सो दिनमा नाला, बनेपा पनौती, श्रीखण्डपुर, दाप्चा, दोलालघाट, साँगा, धुलिखेल आदि स्थानबाट नेवारी कुमारी कन्याहरुलाई बेल विवाह गर्न ल्याईन्छन् । बेल विवाहको सम्पूर्ण कार्य सिडीसकेपछि महालक्ष्मीलाई रथ (खट)मा राखी नाला लगन टोलबाट दोस्रो दिनको जात्रा शुरु हुन्छ । लगनटोल, यापाटोल लायकहुँदै भिमशेन स्थानसम्म पुर्याई पूजाआजा गरिन्छ । त्यसपछि कोईपाटोलहुँदै ईपाटोल र अन्त्यमा उग्रचण्डी भगवती मन्दिर रहेको लगन टोलमा नै पुर्याई त्यस दिनको जात्रा सम्पन्न गरिन्छ ।

तेस्रो दिनको जात्रा :

तेस्रो दिनको जात्रा सिन्दुर जात्राको रुपमा भव्य रुपमा मनाईन्छ । सोही दिनमा नालाबासीहरुले आआफ्ना पाहुना, ईष्टमित्र, नातेदारहरुलाई निम्तो गरी बोलाउने चलन रहेको छ । यो दिन बैशाख शुक्लपक्ष चतुर्थीको दिन पर्दछ । सो दिनमा लगन टोलको सोह्रखुट्टे पाटीमा रहेको महालक्ष्मी देवतालाई रथमा राखी लगनटोल, यापाटोल, टुपीचाटोल, ईपाटोल, गंशटोल हुँदै पुनः लगन टोलमा नै देवतालाई पुर्याईन्छ हरेक टोलमा रहेको डबलीमा सिन्दुर छर्केर एकले अर्कालाई बडो स्नेहका साथ अबिर दली घुमघामका साथ जात्रामा विभिन्न बाजा समूह नाँचगान गरि मनाईन्छ । घरै वर्ष अघि भक्तपुर ठिमी, लुंभुं, बनेपा, पनौती लगायतका स्थानबाट आआफ्नो बाजा गाँजा ल्याई बजाई प्रदर्शन गर्ने परम्परा थियो । तर हिजो आज यो परम्परा कम मनाएको देखिन्छ ।

चौथो दिनको जात्रा :

यो दिनको जात्रा अन्तिम दिनको जात्रा हो । यो दिनमा रथ जुधाउने गरिन्छ । नालाको जात्रामा महालक्ष्मीको मात्र जात्रा नगरी महादेव, नारायणीको पनि जात्रा गरिन्छ । महालक्ष्मीको ठूलो खट (रथ) झण्डै ३२ जनाले बोक्नु पर्ने हुन्छ भने अन्य देवताको ससानो दुईवटा गरी जम्मा तीनवटा रथहरु हुन्छन् ।

यो दिन लगन टोलबाट देवतालाई रथमा राखी लगनटोल, यापाटोल, टुपीचाटोल, हुँदै महालक्ष्मीको घर भएको ईपाटोल पुर्याई यहाँबाट गंशटोल लागि महालक्ष्मीको रथ र अन्य नारायणी र महादेवको रथ जुधाई आआफ्नो स्थानमा वर्ष दिन भरिएको लागि विश्राम लिईन्छ । यसरी नालादेशको जात्रा जम्मा चार दिनसम्म बडो धुमधामका साथ मनाएर सम्पन गरिन्छ । यो जात्रा मनाउने कसरी चलन कुसरी भन्ने बारेमा एउटा किंवदन्ती यसप्रकार छ ।

परापूर्वकालमा नालादेशलाई हिदुम्व भन्ने राक्षसले खुब दुःख दिने गर्थ्यो रे । त्यहाँका मानिसहरुलाई जथाभावी मार्ने, काट्ने र खाने गर्न थाल्यो रे । यी दुःखद दिनहरुलाई केही हदसम्म साम्य पार्न त्यहाँका मानिसहरुले प्रत्येक दिन एउटा घरबाट पालैपालो एक जना मानिस राक्षसको आहरा बन्न जाने निर्णय गरेछन् । सोही अनुसार पालैपालो एक घरबाट एकजना मात्र नाङ्गलोमा भात पकाई दुम्व खुशी (महादेव खोला) जाने र सो व्यक्तिलाई हिदुम्व राक्षसले आफ्नो आहरा बनाउने गर्दथ्यो । एवंम रितले यही घटनाक्रमहरु चलिरहेको थियो ।

एक दिन एउटा घरको पालो आयो । सो घरमा आमा, बुबा, छोरा छोरीहरु रहेछन् । आमाले आफू राक्षसको पालोमा जाने भनिन् । अन्य छोराहरु आफू जाने भनेर विवाद भई रहेको थियो । यो ह्रदय विदारक दृश्य त्यही घरमा आएको एक कुमारी केटीले देखिरहेकी थिइन् ।

परिवारमा कस्तो प्रेम ! आफू मरेर अरुलाई जीवित राख्न खोजेको देखेर ती कुमारी केटीले आफू नै राक्षसकोमा जाने निर्णय गरिन् । पाहुनालाई यसरी मर्न दिनु हुन्न भनेर उनीहरुले रोकिन् । तापनि कुमारी केटीको जिद्दीले उनै जाने निर्णय भयो । कुमारी केटी अरु नभएर उनै महालक्ष्मी देवी थिईन् ।

उनले हिम्दुव राक्षसलाई महादेव खोलामा रहेको इनारमा खसालेर मारिन् । महालक्ष्मी फर्केर नालाबासीहरुको सधैंको लागि दुःखहरण गरिदिइन् । सोही अवसरमा नालाबासीले उहाँको जात्रा गरेका हुन् भन्ने भनाई रहआिएको छ । त्यो राक्षस फेरि पनि आउन सक्ने भएकोले उनले खसालेको इनारमा ठूलो ढुंगा छ । त्यसमा हरेक साल महालक्ष्मीको रथ राखी थिच्ने परम्परा रहेको छ । नालाबासीले यिनै महालक्ष्मीलाई आजको दिनसम्म पनि आफूलाई जीवनदान दिने देवीको रुपमा मान्दै आएको छ ।