• असार २५ २०८१, सोमबार

कांग्रेस-माओवादी नेता भन्छन् ‘मन मात्रै होइन, हाम्रो त मुटु पनि मिलिसक्यो’

बैशाख १७ २०७९, शनिबार

घोराही, १७ बैसाख ।
‘हात मिलेका मात्र होइन, मुटु पनि मिलेका छन्’ प्रेस युनियन र प्रेस सेन्टरले बुधबार घोराहीमा गरेको संयुक्त पत्रकार सम्मलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्वमन्त्री दिपक गिरीले भन्नुभयो । उहाँको भनाईले हलमा उपस्थित दुवै तर्फका कार्यकर्ताका मुहारहरु उज्याला देखिए ।
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेपाली कांग्रेसका नेता दिपक गिरीले आन्तरिक सम्बन्ध प्रगाढ रहँदै आएको दावी गर्नुभएको छ ।

उहाँहरुको लवज र हाउभाउले माओवादी र कांग्रेस बिचमा कुनै मतभेद देखान्नथ्यो । बरु एउटै पार्टी नभएर किन अलग होलान् भन्ने भाव दिन्थ्यो । दुवै नेताले पुराना सकारात्मक सम्बन्धहरु कोट्याएर आपसी प्रशंसा गर्नुभयोे ।

‘गणतन्त्र र संघीयता हामी र कांग्रेस मिलेर ल्याएको हो’, पूर्वसभामुख समेत रहनुभएका माओवादी केन्द्रका नेता महराले भन्नुभयो, ‘नेपाली कांग्रेसको राष्ट्रियता लोकतन्त्र र समाजवादमा हामी एक ठाउँ छौँ ।’ उहाँले दिवंगत गिरीजाप्रसाद कोइरालालाई पटक पटक स्मरण गर्नुभयो ।

‘राजनीतिमा उठापटकी हुन्छ । उतार चढाव हुन्छ, तर महरा सरले मलाई सँधै इज्जत गर्नुभयो’ पूर्वमन्त्री समेत रहनुभएका कांग्रेस नेता गिरीले भन्नुभयो, ‘म मन्त्री हुँदा सल्लाह गरेरै विकास निर्माणका काम गयौँ ।’

उहाँले नौ महिने कार्यकालमा बृहत सिचाई लगायत धेरै काम गरेको, उच्च अदालत तुलसीपुरमा ल्याएको, प्रदेश प्रहरी कार्यालय ल्याएको त्यसमा महरासँगै सल्लाह गरेको नेता गिरीको दावी थियो । उहाँले तुलसीपुरमा डोमेष्टीक र दाङमा अन्तर्राष्टिय विमान स्थल, भालुबाङमा राजधानी लगायतका बाँकी काम पनि त्यसरी नै गरिने बताउनुभयो ।

संविधान बचाउन, प्रजातन्त्र उल्टउन नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्र संस्थागत गर्न गठबन्धन गरेको नेता द्धयको भनाई थियो । चुनावलाई सामान्य नठानेर विगतका तितामिठा कुरा भुल्दै अघि बढ्न कार्यकर्तालाई आव्हान गर्नुभयो ।

युद्धकाल, लोकतन्त्रहुँदै कांग्रेस र माओवादीको सम्वन्ध अहिलेसम्म पनि राम्रो रहेको र दुवै संघर्ष र परिवर्तनका पक्षधर रहेको दावी गरे ।

घोराहीका मेयर माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ र उपमेयर कांग्रेस नेता भुपबहादुर डाँगीले मामा भान्ज नाता सार्वजनिक गरेर भावनात्मक सम्बन्धलाई थप बलियो बनाए । शर्मा जनयुद्धकालीन नेतृत्व हुनुहुन्छ ।

डाँगीपनि कांग्रेसका पुराना र प्रभावशाली नेता मानिनुहुन्छ । तर गत १४ गतेको त्यो संयुक्त चुनावी प्रशिक्षणमा मामा भान्जको नाता सहित बोलेका शब्दले परिस्थिति बदलिदियो । मुर्मुरिएर हलभित्र छिर्ने हो, यति भनेपछि भोट त हाल्नै पर्यो भनेर निस्किए ।

घोराही १४ को बहुउद्देश्यीय सभागृहबाट निस्कनेहरुले कसैले पनि विमती बचेको संकेत गरेनन् । त्यस दिन देखि घोराही उपमहानगरपालिकामा गठबन्धनको माहोल सकारात्मक दिशामा अघि बढ्यो । दिनहुँ जसो गाउँगाउँसम्म ठूला सभा र व्यापक जनसहभागिता देखिन थालेको छ ।
मनोनयनका दिन सबैभन्दा ठूलो जुलुस एमालेको थियो ।

मेयरका उम्मेद्धार नरुलाल चौधरीको पल्ला भारी देखिन्थ्यो । जुलुस हेरेर फेरि पनि चौधरीले जित्छन् भनेर मानिसहरुले आँकलन गरेका थिए । यतिबेला भने उनीहरुको जुलुसले निरन्तरता पाएको देखिन्न ।

एउटैले १० वर्ष खाने भनेर पार्टी भित्रै असन्तुष्टिका स्वर सुनिन थालेका छन् । मेयरमा रहँदा चौधरीले नयाँ काम नगरेको, नयाँ योजना कार्यक्रम ल्याउन नसकेको आरोप छ । सडक, कृतिम ताललाई निरन्तरता दिएपनि शिक्षा स्वास्थ्य लगायत परिवर्तनका क्षेत्रमा अविष्मरणीय काम नगरेको आरोप छ । गठबन्धन तर्फ भने दुवै नयाँ छन र वडाहरुमा पनि धेरै नयाँ अनुहार छन् ।

हलो चिन्ह लिएको राजेन्द्र लिंङदेन नेतृत्वको राप्रपा जोडतोडले लागेको छ । मेयर पदका सरिता देवकोटा कांग्रेस छोडेर उक्त पदको उम्मेद्धारी पाउनुभएको हो । माओवादीको जनकार्वाहीमा परेर खुनासिएका केहि मत त्यता जान सक्ने धेरैको अनुमान छ ।

तिनलाई पनि हिजोको विशेष परिस्थिति थियो । अब विगतलाई भुलेर अघि बढौ भन्दै कांग्रेस नेताहरु फकाईरहेका छन् ।

शसस्त्र क्रान्ति गरेको पृष्ठभूमी यौटै हो र संकटको बेला सम्हाल्ने हामीले पर्छ भन्ने गरेका छन् । यसरी विगतका योगदान बलिदानका सवाल उठाएर कार्यकर्ता मिलाउँदै छन् ।

ढिलो उम्मेद्धारी टुंगाएको गठबन्धनले भने दिनहुँ समर्थक थप्दै लगेको छ । घर बसेका निष्कृय कार्यकर्ता हिंडालेको भेटिन्छ । यो कहाँसम्म बढ्छ भनेर अनुमान गर्न भने सकिन्न । तर माओवादी र कांग्रेसको बिचमा कटुता भने समाप्तै होला जस्तो गरी दुवै तर्फका कार्यकर्ता मिल्दै गरेका छन् । एउटै मेसमा खाना खाँदै, एउटै खातामा चिया नास्ता गर्दै अघि बढेका छन् ।

गठबन्धन प्रदेश संघको चुनाव हुँदै अघि बढ्न सक्ने आधारहरु बन्दै गरेका छन् । ४० बुँदे मागमा विमती राखेर युद्धमा पठाउने शेरबहादुर देउवा र तिनका विरुद्ध १० वर्षे जनयुद्धको नेतृत्व गर्ने पुष्पकमल दाहाल प्रचण्ड बिचको गठबन्धन अनौठो देखिएको छ ।

शुरुका दिनमा अपत्यारिलो लागेको सम्बन्ध चुनावी माहोल बढ्दै जाँदा एउटै पार्टीका जस्ता मानिन थालेका छन् । लामै समय एक अर्कालाई दुश्मणका रुपमा देख्नेहरु मनमुटु मिलेको दावी गर्छन् ।