काठमाडौं । युद्धरत युक्रेनकी एकजना महिला सगरमाथा हिमाल आरोहणका लागि नेपाल आइपुगेकी छिन् ।
वसन्त ऋतुमा हुने हिमाल आरोहणमा सहभागी हुनका लागि उनी नेपाल आएकी हुन् । त्यस्तै युद्धरत अर्को देश रुसबाट पनि १७ जना आरोही हिमाल चढ्न नेपाल आएका छन् ।
पर्यटन विभागका अनुसार शुक्रबारसम्ममा यो सिजनमा सगरमाथा चढ्नका लागि ५८ वटा देशबाट ३१६ जना आरोहीले आरोहण अनुमति लिएका छन् ।
जसमध्ये युक्रेनबाट एक महिला आरोहीको मात्र अनुमति जारी भएको विभागले जनाएको छ । यो सिजन रुस–युक्रेन युद्धका कारण कम मात्र यूरोपेली पर्वतारोही आरोहणमा आउने अनुमान गरिएको थियो । तर युद्धरत देशबाट नै एकजना महिला आरोही सगरमाथा आरोहणका लागि नेपाल आइपुगेकी छिन् ।
यस पटक पनि अमेरिका र यूरोपबाट नै बढी आरोही नेपाल आएका छन् । विभागका अनुसार युक्रेनमाथि आक्रमण गरिरहेको रुसबाट ५ महिलासहित १७ जना आरोही सगरमाथा चढ्ने उद्देश्यले नेपाल आएका छन् ।
सगरमाथा चढ्न आउनेमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आएका छन् । यो सिजनमा शुक्रबारसम्म १३ महिला र ५१ पुरुष गरी अमेरिकाबाट ६४ जना आरोहीले सगरमाथा चढ्न अनुमति लिएको तथ्यांक छ । दोस्रो नम्बरमा बेलायती नागरिक छन् ।
४ महिला ३० पुरुष गरि बेलायतबाट ३४ जना आरोहीले अनुमति लिएका छन् । यो सिजन २१ जना नेपाली आरोही सगरमाथा जाँदैछन्, जसमध्ये ६ जना महिला छन् । भारतबाट २३ जनाले अनुमति लिएकोमा ८ जना महिला रहेको विभागको तथ्यांक छ ।