मेरो चर्केको भित्तामा एउटा तस्विर टाँस्नु छ
मनका उकुस मुकुस र ज्वालामुखीहरु समेट्ने
अपमानको धूलोले नछुने
सँगै आयुका बत्तीहरु बालेर
आफूलाई नै ताछेर मुकुन्डो बेच्ने राजनैतिक पसलहरुमा जस्तै
विवेकलाई कोतरेर
जिन्दगीको नाटकको अन्तिम दृश्यलाई सम्झने
एउटा तस्विर टाँस्नु छ
पुर्खाहरुको साँध समाउन खोजेजस्तो
फ्याँकिएको वर्तमानलाई वास्ता नगरी
चाउरिएका सतहका तरङ्गहरु मिलाउन
समयको स्वाद लिँदै
हिजोले आजलाई बिर्सेझैं
बाध्यताको गतिहिनता समाउने
मेरो साँस्कृतिक घाउहरु देखिने
एउटा तस्विर टाँस्नु छ ।
स्वार्थको सुइरोले कोपेर
त्यसैमाथि घमण्डी किल्ला ठोकेर
विश्वासीलो डोरीले बाँधेर
चारैकिल्ला बलियो फ्रेम बनाउनु छ
पारदर्शी स्वच्छ ऐना राखेर
मनैदेखि सफा पारेर
सम्झनाका आलिङ्गन सम्झेर
दुधको धारा चुकाउन
सदाकालको हार्दिकता अर्पण गर्दै
मलाई जन्म दिने आमाको तस्विर
यो मनको भित्तामा टाँस्नु छ ।