• फाल्गुन २८ २०८१, बुधबार

काठमाडौं–केरुङ रेलमार्गको अध्ययन अझै अलमल

बैशाख १७ २०७९, शनिबार

काठमाडौँ । काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने सहमति भएको महिना दिन बित्दा अझै काम अघि बढ्न सकेको छैन ।

गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसमा दुई देशका उच्च अधिकारी सहमत थिए ।

तर त्यसपछि अध्ययनका लागि चिनियाँ प्राविधिक टोली अहिलेसम्म नआएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । चिनियाँ प्राविधिक टोली कोभिडको त्रासले आउन नसकेको मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्माले बताए ।

‘हामीसँग जानकारी लिएर उतैबाट अध्ययन गरिरहेका छन्,’ उनले भने । जेठ–असारमा चिनियाँ प्राविधिक टोलीसँग नेपालमा भौतिक रूपमा बैठक बस्ने भनिए पनि चीनमा कोभिड बढेकाले उताबाट आउन समस्या हुने देखिएको छ ।

अध्ययन गर्ने प्राविधिक टोली सम्पर्कमै रहेकाले कोभिड कम हुनेबित्तिकै नेपाल आउने शर्माले बताए । काठमाडौं–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन २०७५ मंसिरमै भएको थियो । योस समाचार कान्तिपुर दैनिकमा छ ।