काठमाडौं । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको सुरुवाती समयमा आफू रुसी फौजबाट झण्डै पक्राउ परेको खुलासा गरेका छन् ।
उनले रुसी आक्रमणपछिको युक्रेनी पीडा अभिव्यक्त गर्न अमेरिकी कांग्रेस, विश्व बैंक र ग्रामी पुरस्कारलाई सम्बोधन गरिसके ।
साथै बोरिस जोनसन लगायत थुप्रै विश्व नेता उनलाई किभ नै गएर भेटेका छन् । तर शक्तिशाली छिमेकीको आक्रमणको साहस पूर्वक प्रतिरोधका प्रतिक बनेका जेलेन्स्की झण्डै युद्धको सुरुमै रुसी कब्जामा पुगेको जेलेन्स्कीले बताएका छन् ।
चर्चित टाइम म्यागजिनका रिपोर्टर सिमोन शस्टरसँगको कुराकानीका क्रममा जेलेन्स्कीले रुसी फौज उनी बसेको घरको कम्पाउन्डमै आएको उल्लेख गरेका छन् । शस्टरले किभस्थित राष्ट्रपतीय प्राङ्गणमा एक रात बिताएर जेलेन्स्कीसँग अन्तरवार्ता लिएका थिए ।
फेब्रुअरी २४ को झिसमिसेमा बमको आवाजले बिउँझिएपछि आफू र श्रीमती ओलेनाले छोरी (१७ वर्ष) र छोरा (९ वर्ष)लाई सुरक्षित स्थानमा लग्न तयारी गरेको कुराबाट उनले सो दर्दनाक समयबारे बताउन सुरु गरेका छन् ।
त्यस समय युक्रेनी सेनाले जेलेन्स्कीलाई एक रुसी समूह प्यारासुट मार्फत् किभमा अवतरण गरिसकेको अवगत गराएको थियो । सो समूहको उद्देश्य जेलेन्स्की र उनको परिवारको हत्या वा अपहरण गर्ने रहेको तिनले बताए ।
‘हामीले त्यस समय फिल्ममा देखिने खालको स्थिति भोगिरहेका थियौं । लगत्तै गार्डले भवनको लाइट निभाए । जेलेन्स्कीका लागि बुलेटप्रुफ भेस्ट, राईफल र झण्डै एक दर्जन सहयोगी मगाइयो,’ जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यरम्याकले भने ।
शस्टरका अनुसार जेलेन्स्की भवनभित्रै हुँदा रुसी फौजले दुई पटक भवनको प्राङ्गणमा प्रवेश गर्ने प्रयास गरेको थियो ।
रुसी फौजको आक्रमण निस्तेज पारिएपछि जेलेन्स्कीलाई अमेरिका र ब्रिटिस फौजबाट उद्दार गरिने प्रस्ताव पनि आएको थियो । त्यसलाई उनले अस्वीकार गरिदिएका थिए ।
त्यही रात उनले घरको आँगनमा निस्किएर मोबाइलबाट हाल चर्चित भिडियो सन्देश रेकर्ड गर्न थाले ।
उक्त समय आफूलाई युद्धमा आफ्नो भूमिका के हो भन्ने बोध भएको जेलेन्स्कीले बताएका छन् । ‘त्यस समय तपाईंले कुनै देशका राज्य प्रमुखले जे व्यवहार गर्छन्, त्यही गर्नु आवश्यक हुन्छ,’ जेलेन्स्कीले भने ।
एजेन्सीको सहयोगमा ।