काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार दर्ताका क्रममा अन्योल हुँदा निर्वाचन आयोगले पत्रका चाङ आएका छन् ।
विभिन्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा एउटै दलका, एउटै पदमा दुई जना उम्मेदवार बन्दा, प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक (बन्द सूची)मा रहेकाहरू उम्मेदवारी दर्ता गरेपछि अन्योल भएको भन्दै प्रश्नका पत्र आएका हुन् । उम्मेदवारीमै अन्योल हुँदा देशभरिका उम्मेदवारको सूची प्रकाशन गर्नसमेत कठिन भएको छ ।
एउटै दलबाट एउटै पदमा दुईवटा उम्मेदवारी परेका कारण पनि निर्णय सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई कठिनाइ भएपछि आयोगमै पत्र पठाएका हुन् । ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय राखिएका छन् ।
मेयर, उपमेयर, वडाध्यक्ष पदका लागि एउटै दलबाट दुईवटा उम्मेदवारी पर्दा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन समस्याको समाधान दिन नसक्दा तीन सय बढी पत्र आएको आयोगले जनाएको छ ।
कतिपय विषयमा निर्वाचन आयोगको बैठक बसेर निर्णय नै गरेर पठाएको छ भने मौखिक निर्णय दिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । यो समाचार नागरिक दैनिकमा छ ।