• मंसिर १४ २०८१, शुक्रबार

यो वर्ष २० खर्बको आयात, ३ अर्बको निर्यात हुने अनुमान

बैशाख १५ २०७९, बिहीबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा नेपालको आयात २० खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

केन्द्रीय तथ्यांक विभागले यस्तो प्रक्षेपण गरेको हो । विभागले निर्यात् ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानका अनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको छ ।

विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढेको आयात र निर्यातले पनि प्रक्षेपित आर्थिक वृद्धि हात पार्न सघाउने विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । यो वर्ष सरकारले ५.८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्ष २०७८र७९ को ९ महिना (साउन-चैत)सम्म आइपुग्दा व्यापार घाटाको आंकडा १३ खर्ब भन्दा माथि छ ।

भन्सार विभागको तथ्यांक अनुसार कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा निर्यात् भने १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत र निर्यातको हिस्सा ९.८७ प्रतिशत रहेको छ ।

९औं महिनासम्म आइपुग्दा निर्यातमा देखिएको उच्च वृद्धिका कारण निर्यातको हिस्सा समेत बढ्दै गएको पाइएको छ ।