• मंसिर १४ २०८१, शुक्रबार

धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन अर्थमन्त्री शर्माको निर्देशन

बैशाख १४ २०७९, बुधबार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले धान रोप्ने किसानलाई उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिएका छन् ।

आज मन्त्रालयमा भएको छलफलमा उनले चामलको बढ्दो आयातलाई यसै वर्षदेखि नै घटाउनुपर्ने बताउदै आगामी जेठ–असारमा उन्नत जातको बीउ उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

मन्त्री शर्माले नेपालमा सूचीकृत भएका उन्नत जातको धान बीउको सूची, आयातकर्ता व्यवसायी र उन्नत जातको बीउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित बिहीबार पुनःछलफलमा आउन निर्देशन दिए ।

उनले अब यो काम गर्न ढिला गर्न नहुने बताउदै उन्नत जातको बीउ खरिद गर्न किसानलाई महँगो हुने देखिए अनुदानबापत चाहिने रकम अर्थ मन्त्रालयबाट तत्काल निकासा दिने बताए ।

छलफलमा कृषि सचिव डा गोविन्द शर्माले उन्नत जातको बीउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी गुणस्तरीय बीउ ल्याउन निर्देशन दिइसकेको जानकारी गराए ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागको सहभागी रहेको थियो ।