• मंसिर २० २०८१, बिहीबार

रोल्पाको थबाङदेखि काठमाडौंको गोकर्णसम्म…….

बैशाख १४ २०७९, बुधबार

भारतको राजधानी नयाँ दिल्ली, चीनको राजधानी बेइजिङ भएजस्तै नेपालका माओवादीको राजधानी रोल्पाको थबाङ्मा थियो । माओवादीहरूलाई थबाङलाई राष्ट्रिय अन्तराष्ट्रियरुपले राजधानी भनेर चिनाउन हम्मेहम्मे परेको थियो ।

म पनि पार्टी कार्यकर्ता भएकोले विभिन्न जिल्लाहरु घुमिसके पछि जनवादी विद्यालय, रेडियो जनगणतन्त्र, जनादेश पत्रिकाको कार्यालय, जनकम्युन, कपडा उद्योग, घरेलु कृषि सहकारी, जनअदालत, पुस्तकालय जस्ता संस्थान र पूर्वाधारका निर्माण गरिसकेको थाहा पाएँ । यस्तै जिज्ञासा र उत्सुकताले, उमङ्गले भरिएको थियो मेरो मन ।

पार्टीमा थबाङ जाने मलाई रहर छ आवश्यकता त्यहाँ छ भने म त्यहिँ कार्यक्षेत्र बनाइदिनुस् भनि आग्रह गरें । मेरो आग्रहलाई पार्टीले स्वीकार गर्यो । दाङका क्षेत्रीय ब्यूरो सदस्य हेमराज शर्मा (डायमण्ड) र सागर कमरेडहरुको विशेष तयारीमा निधारमा रातो टिका, गलामा गुराँसको माला र पिठ्युमा जनवादी पुस्तक र साथमा एघार जना जनमुक्ति सेनाको साथमा विहान ८.४० बजे दाङको जोसिलो पोष्टबाट हामी हिंड्यौ । १२.३० बजे रोल्पाको नुवागाउँ अरनिको मावि नजिक होटलमा खाना खायौं र लाग्यौं खोलैखोला उत्तर दिशा थबाङ तर्फ ।

यो कुरा २०६० फागुन महिनाको भएकोले सहिद मार्ग खन्ने योजना पनि रहेछ । हामी पैदल हिँड्यौ । गोल्डस्टार जुत्ता, स्लिपिङ् व्याग साथै थियो । मलाई थुर्पा लेख-चढ्न हम्मे हम्मे पर्यो । त्यसैले पुस्तकको झोला उषा कमरेडले बोकिदिनु भयो । उकालो काटिसकेपछि आफैले उचालें । हिंड्दै गयौं । हाम्रो व्यवस्था आयो भने भावाङमा विमानस्थल बनाउँला ।

रोल्पाको जलजला पहाडमा औषधी उद्योग खोलौंला भन्ने साथि आज उपराष्ट्रपति, शिक्षामन्त्री……हुनु भएको छ । हामीहरु हिँड्दै पसिना पुछ्दै गइरहेका थियौं । बाटोमा घोडाबाट सामान सार्ने गाउँले स्कूले विद्यार्थीहरु पनि आएको देखियो । खुशी लाग्यो कुरेली भन्ने गाउँमा हेल्थपोस्ट, मिठाइ पसल र चियापसल आयो । चिसो हावा, सफा र निर्मल पानी एकातिर बगिरहेको थियो भने अर्कोतिर पसलमा आएका ससाना बच्चा खेलिरहेका थिए । कसैले बिस्कुट कसैले आरु खाइरहेका थिए । मगर खाम भाषामा आरुलाई ‘कुरेली’ भन्दा रहेछन् भन्ने पनि थाहा भयो । चिया पसलमा केहिबेर आराम गरेपछि थबाङको गाउँ पुग्न सबै उत्सुक थियौं ।

हिँड्दैगर्दा एकजनजा साथीले रेडियो जनगणतन्त्र खोल्नु भयो । सबै झनै उत्सुक भयो । रेडियोले ‘यात्रा हाम्रो लामो छ है हिडौं साथी नथाकेर, केहि साथी हराएछन् हाम्रो आफ्नै बीचबाट’

पाखाभरी गुराँस फुलेको, चराको र खोलाहरुको कलकल आवाज, विभिन्न जिल्ला र गाउँका साथीहरुको भेट, मनमा थबाङ पुग्ने र पेटभरी घुम्ने साथीहरूसँग छलफल गर्ने, परिचय गर्ने उत्सुकताले भरिएको यो क्षण आज साँच्चै काल्पनिक कवि वा उपन्यासकारका हरफहरु जस्तो लाग्छ मलाई । आज जो जस्तो भएपनि कुरा उठिहाल्यो ।

२०६० फागुन कै कुरा गरौं ।

प्रसंग, शीर्षक, विद्या, प्रस्तुती र शैली केहि नमिल्न सक्छ तर प्राकृतिक दृश्य, कार्यकर्ताहरूको इमान्दारिता र बहादुरहरूको बहादुरीलाई म कदापी बिर्सेको छैन भनि दृढ निश्चय गरें ।

थबाङमा आइपुगीसक्यौं । गोधुली साँझ पनि पर्यो । कार्यकर्ताहरु मिलेर खोलेको सहकारी (कम्युन) होटेलमा पुगेर रमाइलोसँग सौहादपूणर् वातावरणमा बास बस्यौँ ।

थबाङको ऐतिहासिक स्थानको अवलोकन गर्ने कोही विदेशी पर्यटकहरु पनि थिए । हाम्रो साथीहरूको योजना एकदिन मात्र बस्ने थियो त्यसैले छिटो छिटो घुम्ने फोटो खिच्ने र फेरि आउँदा अलि समय लामो मिलाएर आउने इच्छा थियो । विहान उठ्दा सूर्योदय भैसकेको थियो । गाउँका चोकहरुमा रक्तिम झण्डा सूर्यको विहानी किरण झुल्किँदा सबै जनमुक्ति सेनाका साथीहरुसँगै फोटो खिच्यौं ।

आधुनिक शहरका सिमेन्टका ढलानवाला घरका तुलनामा काठको छाना भएका घरहरु देख्यौं । सबै घर उस्तै डिजाइनका थिए । रुकुमका हेमन्त साथीले ‘बजारमा त पढेको मान्छेले साइन बोर्ड हेरेर थाहा पाइन्छ, यहाँ साइनबोर्ड पनि छैन, कसरी थाहा हुन्छ ओ साथी’ भनेर हाँसो ठट्टाको स्वरमा भन्नुभयो ।

युवती पनि हुनाले अलिक सानो स्वरमा ‘कमरेड छिरिङको घर कहाँ होला ? वहिनी’ भनेर सोध्नुभयो । बहिनीले ‘ऊ त्यो डोकाडाला छाना मुन्तिर राखेको घर हो’ भनि परिचय गराउनु भयो । हामी सिधै कमरेड छिरिङको घर गएर गाउँमा पहिले कसरी युद्ध शुरु भयो पहिले कस्को गल्ती थियो ?

तपाईंहरु युद्ध हुँदा कहाँ बसेर बाँच्नुभयो, अहिले कस्तो छ ? जस्ता प्रश्नको जवाफ दिँदै हुनुहुन्थ्यो । झकीबाङबाट सिंह बुढा नामका वरिष्ठ साथी आउनु भयो र उहाँले थबाङका अगुवा बरमन बुढाहुदाँ पञ्चायती दमन, प्रहरीको बर्बरता र बहुदलमा आफ्नो मत राखेका कुराहरू लामो समय चल्यो ।

सिंह बुढा, कमरेड गोरे, रेगन, कमरेड प्रताप, कमरेड रेशमकुमार शाह, कमरेड रामकुमारी गुरुङ, जनमुक्ति वि.क., शान्ता रोका आदि सबैसँग परिचय गरि सकेर लाग्यौं बिबाङ भन्ने डाँडामा । त्यहाँ पार्टी कार्यकर्ताको छोराछोरी पढाउने जनवादी मोडेलको निःशुल्क विद्यालय थियो । पुग्ने समयमै सबै विद्यार्थीहरूले नमस्कार/सलाम गरेर स्वागत गरेको देख्यौं ।

माओवादी विद्यालयको नाम थियो ‘सहिद स्मृति नमूना विद्यालय थवाङ, रोल्पा । त्यो विद्यालयको पाठ्यक्रम पनि अचम्मको थियो । पढाउने विधि पनि अचम्मको थियो । त्यो विद्यालयमा निरीक्षण गर्न आउने तथा अवलोकन कर्ता कार्यकर्ता सबैको उच्च मनोवलको तथा असल कामको थालनी भएको थियो ।

कक्षा १ देखि ५ सम्म मात्र पढ़ाई हुन्थ्यो । तर कतिपय विद्यार्थीहरू खेलकुद तथा जिमनास्टीकमा बु्रस ली जस्तै सिपालु भैसकेका थिए । त्यहि विद्यालयबाट काठमाण्डौ विद्यानिलकण्ठमा पढ्ने अवसर एक दुई जनाले पाएका थिए ।

संवाददाता तथा पत्रकार पनि त्यस विद्यालयमा आउनु हुन्थ्यो । धेरैपटक आउनेमा जापानी पत्रकार (फोटो) कियोको अकेरा, जन्मदेव जैसी, उजीर मगर, नविन विभास, रोल्पाबाट कान्तिपुर संवाददाता काशीराम डाँगी, दशरथ धिमिरे, शिक्षक विभाग प्रमुख गुणराज लोहनी, भेषराज भुसाल पटक पटक आएर सल्लाह सुझाव दिनु हुन्थ्यो ।

हुन त त्यो विद्यालय जनमुक्ति सेना र थबाङका जनसत्ताको समितिले निर्माण गरेको हो तर विद्यार्थी तथा शिक्षकको लागि राम्रो वातावरण थियो । युद्धकालमा त्यस विद्यालयको वरिपरी हेलिकप्टर घुमाएर सनाले आतंकित पारेको थियो । त्यस्तै कारणले कतिपय विद्यार्थी बिरामी पनि परेका थिए ।

यति धेरै समय बित्यो । आज माओवादी पार्टी सत्तामा छ, नेकपा माओवादीकै तर्फबाट शिक्षामन्त्री देवेन्द्र पौडेल (क.सुनिल) हुनुहुन्छ । उहाँहरु तथा केन्द्रीय कमिटीका नेताहरूलाई पनि थाहा छ होला तर मेरो व्यक्तिगत तर्फबाट माओवादीले शिक्षा नीति बदल्न सकेन । बुर्जुवा शिक्षा भनेर विरोध गरेको शिक्षा प्रणालीमा आफै फस्दै गएको देखिन्छ । फेरि सच्चिएर राम्रो बनाए हुन्थ्यो ।

अब लागौं  गोकर्ण, आरुबारी तर्फ :

मैले कक्षा १० मा पढ्दा पञ्चायती व्यवस्था थियो । ‘श्रीमान गम्भीर प्रचण्ड प्रतापी भूपती’ भनेर राष्ट्रिय गान गाउँथ्यौं । त्यसबेला देखि नै नेपाली पाठ्यक्रममा हास्यव्यंग्यकार भैरव अर्यालको टाउको निवन्ध पढ्नु पर्दथ्यो ।

गुरुङ भन्नु हुन्थ्यो पानी पेलेर विजुली निकाले नै उनले दुःख र पीडालाई पेलेर हाँसो निकाल्थे । उनी नेपालका उच्च हाँस्यव्यङ्व्यकार हुन् भनेर मनमुग्ध विचारका साथ पढाउनु हुन्थ्यो । त्यसको प्रभाव मलाई आयो र मैले भैरव अर्यालका धेरै कृतिहरु पढें । पढेर मात्र के गर्नु कुहिरोमा हराएको जस्तै भयो । मलाई भैरव अर्यालको शालिक हेर्न मन थियो । त्यो पुरा भएको थिएन । २०५० बाट प्रयास गर्दा २०७४ मा पुरा हुन सक्यो ।

नेकपा माओवादीका संस्थापक अध्यक्षले कार्यकर्ता प्रशिक्षण क्रममा विभिन्न भ्रमहरु जस्तै : संस्कृत शिक्षा एक उच्च जातले पढ्ने शिक्षा हो, अरुले पढ्नु हुँदैन भन्ने कुरा गलत हो भन्नु हुन्छ । कुरा सत्य सावित भयो । भैरव अर्यालले ब्राह्मणवाद मित्रका फोहोर कसिंगर बढारेर फाल्ने कोशिस गरे ।

उनको बारेमा जान्नु छ, बुझ्नु छ । त्यसले म सधै पुस्तकालय केन्द्रको छेउमै बसेर पढ्थें । पढ्ने क्रममा रोल्पाको लिवाङ बजार, जहाँ कान्तिपुर दैनिक पत्रिकाका संवाददाता पत्रकार काशिराम डाँगी भेट हुन्थे ।

आचार्य पुस्तक पसलमा एकदिन भैरव दुखान्त २०७३ माघ १५ आवरणमा भैरव अर्यालको फोटो सहितको आवरण हेर्दा राजकुमार बाँनियाले लेख्नु भएको भैरव अर्यालका, भैरव अर्यालले समेटेका अनेक व्याख्या सहितको आलेख पढे, छर्लङ घाम लाग्यो । यसै पत्रिकाको माध्यमबाट मैले काठमाडौं गोकणर्सम्म पुगें । पत्रकार राजकुमार बानियाँ मेरो लागि सर्वश्रेक धन्यवादका पात्र हुनुहुन्छ । किन कि उहाँले मेरो भैरव अर्याल सम्बन्धि धेरै सोधहरु त्यस लेखमा समेटेको हुदाँ अत्यन्त खुशी लाग्यो ।

त्यहिँ साहित्यकार, आख्यानकार रमेश विकलको शालिक, गोकणर् आरुबारी नामले प्रसिद्ध रहेछ ।
मगर खाम भाषामा आरुलाई कुरेली भन्दोरहेछ । काठमाडैंदेखि थबाङ जाँदा भालुबाङदेखि उत्तर तर्फ जानुपर्छ । थबाङमा एक पटक पत्रकार साहित्यकार लेखक तथा मूर्तीकार जस्तो विज्ञ व्यक्ति खोजी गरिरहेको छ ।

मलाई लाग्छ क्रान्तिकारी भित्रहुने भावनात्मक सहिष्णुता, त्याग र वलिदानले यात्रा फराकिलो पारिरहेछ । यहि फराकिलो मार्गमा अनेकन फूलहरु फुलाउन सके हृदय उज्ज्वल हुने थियो । राजकुमार बानियाँका अन्य लेखहरुपनि हरसम्भव पढ्ने र बुझ्ने प्रयत्न गर्ने छु ।
(लेखक : थबाङमा माओवादीले स्थापना गरिएको जनवादी विद्यालयका शिक्षक हुन् ।)