• मंसिर १४ २०८१, शुक्रबार

मोबाइल,मोटरसाइकल, र मदिरासहित १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूचीसहित)

बैशाख १४ २०७९, बुधबार

काठमाडौँ। सरकारले मोटरसाइकल, मोबाइल लगायतका विभिन्न १० प्रकारका सामानहरुनेपाल भित्र्याउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हिजो(मंगलबार) राजपत्रमा सूचना निकालेर विभिन्न १० प्रकारका विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको जनाएको छ ।

आउँदो असार मसान्तसम्मका लागि मोबाइल सेट, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन र २५० सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल ल्याउन रोक लगाइएको छ ।

यस्तै एम्बुलेन्स र शववाहन प्रयोजनका लागि बाहेक जीप, कार र भ्यान तथा सबै प्रकारका खेलौना र तास पनि नेपाल भित्र्याउन पाइँदैन । कुरकुरे, कुरमुरे, लेज र यस्तै प्रकारका उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु र हिराको आयातमा पनि असार मसान्तसम्म रोक लगाइएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।

मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी समान ल्याउन बन्देज लागू नहुने जनाएको छ। यस्तै वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको लागि पनि बन्देज लागू हुने छैन।