काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत डोल्पाका तीन पालिकामा एकल उम्मेदवारी परेको छ । काइके, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकामा एकल उम्मेदवारी परेको हो ।
योसँगै यी तीनवटै पालिकाका अध्यक्ष र केही वडाहरूमासमेत निर्विरोध नेतृत्व चयन भएको छ । निर्वाचन आयोगले प्रक्रिया पुर्याएर यसको घोषणा गर्ने जनाएको छ ।
डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा अंगतकुमार राना निर्विरोध निर्वाचित भएका हुन् । उनी नेकपा (एकीकृत समाजवादी)का तर्फबाट उम्मेदवार बनेका हुन् । यो गाउँपालिकाका वडाध्यक्षहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।
यहाँ एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले बताए ।
यस्तै डोल्पाकै छार्काताङसोङ गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीकै उम्मेदवार सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका छन् । एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली इन्जार्ज प्रकाश ज्वालाले डोल्पाबाट आफ्नो पार्टीले स्थानीय तहमा खाता खोलेको बताए ।
शेफोक्सुन्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावासम्डुक लामाको मात्र उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेसँगै उनी पनि निर्विरोध निर्वाचित भएको एमाले कर्णालीका अध्यक्ष विनोदकुमार शाहले बताए ।
शाहले गाउँपालिकामा एमालेको पूरै प्यानल नै विजयी भएको दाबी गरे । उनका अनुसार गाउँपालिकाको उपाध्यक्षमा एमालेकै छार्काताङसोङ लामा निर्विरोध भएकी छन् ।
मुस्ताङको पाँच स्थानीय तहमध्ये दुई तहको ६ वडामा निर्विरोध भएको छ । लोघेकर दामोदरकुण्डका ३ र घरपझोङ गाउँपालिकाका ३ वडामा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । तर, यसलाई मुख्य निर्वाचन आयोगले तत्काल सार्वजनिक गर्न नमिल्ने बताएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका १ ,३ र ४ मा उम्मेदवारी दिने निर्विरोध भएको निर्वाचन अधिकृत नेपालहरी रानाभाटले जानकारी दिए । एमाले जिल्ला इञ्चार्ज चन्द्रमोहन गौचनका अनुसार लोघेकर दामोदरकुण्ड १ को वडाध्यक्षमा टसी ढिन्डु ठुकुरीसहित पूरै सेट एमाले निर्विरोध भएको हो ।
वडा २ मा एमालेका वडाध्यक्षका उम्मेदवार झ्याब्याङ तेञ्जिङ गुरुङसहित २ वडासदस्य र कांग्रेसबाट एक वडासदस्य निर्विरोध भएको गौचनले बताए । वडा ३ मा एमालेबाट वडाध्यक्ष झ्याब्याङ छोसाङ गुरुङसहित २ वडासदस्य एमाले र एक वडासदस्य कांग्रेसको निर्विरोध भएको उनले बताए । लोघेकरको वडा २ र ५ मा कांग्रेस र एमालेबीच सबै पदमा उम्मेदवारी भएको छ । ४ वटा वडामा दलित सदस्य कोटा खाली छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका १ र २ मा नेपाली कांगे्रेसका वडाध्यक्ष उम्मेदवार निर्विरोध भएका छन् । वडा—५ मा एमालेका वडाध्यक्ष निर्विरोध भएको स्रोतले बताएको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।