• मंसिर ८ २०८१, शनिबार

पाँच दलीय चुनावी गठबन्धन भित्रैबाट विद्रोह : कतै एक्लाएक्लै कतै बागी उम्मेदवारी दर्ता

बैशाख १३ २०७९, मंगलवार

काठमाडौ । सत्तारुढ पाँच राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका थिए । तर सहमतिअनुसार अधिकांश ठाउँमा साझा उम्मेदवार खडा गर्न गठबन्धनका दलहरू असफल भएका छन् ।

कतिपय जिल्लाका पालिकाहरूमा गठबन्धनबीच भागबन्डा नमिल्दा दलहरूले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका दलहरूबीचमै कतिपय स्थानमा सबैलाई सँगै लैजान नसक्दा तीव्र असन्तुष्टि उत्पन्न भएको छ भने अर्कोतर्फ भागबन्डा मिलेका केही जिल्लामा आन्तरिक व्यवस्थापन नहुँदा बढेको असन्तुष्टिले बागी उम्मेदवार खडा भएका छन् ।

उनीहरूलाई व्यवस्थापन गरेर निर्वाचन परिणाम आफ्ना पक्षमा ल्याउन गठबन्धनका नेताहरूसामु थप चुनौती खडा हुने देखिएको छ । गठबन्धनका दलहरूबीच सहमति जुट्न नसके मित्रवत् प्रतिस्पर्धा गर्ने तर अन्य दलहरूसँग तालमेल नगर्ने निर्देशन शीर्ष नेताहरूले दिए पनि केही जिल्लामा गठबन्धनमा रहेका दल विपक्षी एमालेसँग मिलेर निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यतिमात्र होइन, पार्टीका शीर्ष नेताहरूले नै भागबन्डा मिलाएका ६ महानगर र ११ उपमहानगरमै नेता तथा कार्यकर्ताले त्यसलाई उल्लङ्घन गरेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।