काठमाडौं । आन्तरिक विवादका कारण कांग्रेसले आइतबार रातिसम्म महानगर–उपमहानगरका मेयर र उपमेयरका उम्मेदवारको समेत टुंगो लगाउन सकेको छैन ।
आइतबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगरका मेयर–उपमेयरबारे निर्णय लिने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको छ ।
पार्टीका सम्बन्धित महानगरपालिका कार्यसमितिको सिफारिस र प्रदेश कार्यसमितिको रायसहित केन्द्रमा आएका नाममध्येबाट सभापतिले उम्मेदवार तय गर्नेछन् ।
कांग्रेसको भागमा विराटनगर, काठमाडौं र ललितपुर महानगरको मेयर तथा वीरगन्ज, भरतपुर र पोखरा महानगरको उपमेयर परेको छ । त्यस्तै सात उपमहानगर पनि कांग्रेसले पाएको छ ।
बैठकले उम्मेदवार चयन गर्ने संसदीय समिति पनि गठन गरेको छ ।
२५ सदस्यीय समितिमा १३ पदाधिकारी सदस्य रहनेछन् । सभापति देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय समितिको सदस्य राखिएको छ ।
गएको महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइराला भने समितिमा अटाएका छैनन् । बाँकी सदस्य पछि केन्द्रीय सदस्यबाट मनोनीत गरिने कांग्रेसले जनाएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।