• फाल्गुन २६ २०८२, मंगलवार

नाइजेरियाको तेल प्रशोधन केन्द्रमा विष्फोट, १०० भन्दा बढीको मृत्यु

बैशाख ११ २०७९, आईतवार

काठमाडौँ। नाइजेरियाको दक्षिण राज्यमा इमोमा रहेको एक तेल प्रशोधन केन्द्रमा भएको विस्फोटमा सय जना भन्दा धेरैको ज्यान गएको छ ।

नाइजेरियाका अधिकारीहरुका अनुसार सो तेल प्रशोधन केन्द्र विधिवत रुपमा दर्ता नै नभई अवैध रुपमा सञ्चालन भइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

इमो राज्यका प्रहरी प्रमुखले दिएको जानकारीअनुसार उक्त प्रशोधन केन्द्रमा विष्फोट हुँदा काममा खटिएका सय जना भन्दा धेरै कर्मचारीको ज्यान गएको छ ।

उक्त प्रशोधन केन्द्रमा काम गरिरहेका बखत अकस्मात् आगलागी भएको र लगत्तै विस्फोट भएको जनाइएको छ । विष्फोटमा परेर अरु केही व्यक्ति घाइते पनि भएका छन् ।

उक्त केन्द्र प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताइएको छ । अवैध रुपमा सञ्चालन गरिएको सो तेल प्रशोधन केन्द्रमा आवश्यक सुरक्षा मापदण्ड पनि नअपनाइएकाले यो दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।