काठमाडौं । ‘पार्टीका जनप्रतिनिधि जनताका सेवक बन्ने, विकासका अभियन्ता हुने, सदाचारको नीति लिने, भ्रष्टाचार नगर्ने र सार्वजनिक सम्पत्तिको दोहन गर्नेलाई कानुनी दायरामा ल्याउन भूमिका खेल्ने’ एमालेको संकल्प छ ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सार्वजनिक गरेको स्थानीय निर्वाचनको चुनावी घोषणापत्रमा यस्ता संकल्प गरिएका हुन् । पार्टीका नेताहरूले चुनाव जितेपछि लिने नीति र व्यवहारलाई एमालेले जनतासँग ‘संकल्प’ भनेको छ ।
घोषणापत्रमा भ्रष्टाचार नगर्ने र गर्नेलाई कडा कारबाही गर्ने उल्लेख छ । छोटो समयमा नै मुलुकलाई समुन्नत र सबल राष्ट्र निर्माण गर्ने प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर ओलीले ७ प्रतिबद्धतासहित ४८ पेजको घोषणापत्र सार्वजनिक गरेका हुन् । ‘सुशासन, समृद्धि र समाजवादीको आधार पालिकापालिकामा एमालेको सरकार’ भन्ने नाराका साथ घोषणापत्र ल्याएको हो ।
रेल, पानीजहाजदेखि विद्युतीय बसको विषय घोषणापत्रमा उल्लेख छ । अशक्त अवस्थामा रहेको ज्येष्ठ नागरिकलाई घरमा नै भत्ता उपलब्ध गराउनेदेखि लोपोन्मुख, सीमान्तकृत, धार्मिक र लैंगिक अल्पसंख्यक, जोखिममा परेको जाति र परिवारको संरक्षणको लागि कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता एमालेको छ ।
बालबालिका, ज्येष्ठ नागरिकका साथै युवाका एजेन्डालाई पनि घोषणापत्रमा राखिएको छ । यो समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ ।