• चैत्र २५ २०८१, मंगलवार

राजनीतिमा कर्मचारी-शिक्षकको मोह : स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उपसचिवदेखि माविसम्मका शिक्षकले दिए राजीनामा

बैशाख १० २०७९, शनिबार

काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् ।

स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् ।

स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ ।

आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो ।

त्यस्तै निर्वाचन आचारसंहितामा सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने स्पष्ट व्यवस्था भएकाले जनप्रतिनिधिबाहेकका व्यक्तिले पनि राजीनामा दिएका हुन् ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको राजीनामा स्वीकृत हुन समय लाग्ने भएकाले आसन्न निर्वाचनमा उम्मेदवार हुन चाहने त्यस्ता व्यक्तिले केही समयअघिदेखि नै राजीनामा दिन थालेका थिए ।

यसरी राजीनामा दिनेमा निजामतीतर्फका उपसचिवसम्मका कर्मचारी र माध्यमिक प्रथम श्रेणीका शिक्षक पनि छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।