• असार २० २०८१, बुधबार

अबको भोट गफ होइन, काम गर्नेलाई ! कस्तो छ दाङमा चुनावी हिसाब ?

बैशाख ९ २०७९, शुक्रबार

दाङ । घोराही उपमहानगरपालिका-१६ को सुकुम्वासी बस्तीका रामबहादुर नेपाली दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्छन् । उनको परिवारमा २ छोरा र १ छोरी छन् ।

रामबहादुरले छोराछोरीलाई नजिकैको सरकारी विद्यालयमा पढाएका छन् । ऐलानी बस्तीमा रहेको सानो घर बाहेक उनको अरु सम्पत्ती केही छैन । सरकारले उनले उपयोग गरीरहेको जग्गाको लालपुर्जा दिने आसमा उनी प्रत्येक निर्वाचनमा भोट दिनका लागि जाने गरेको बताउँछन् ।

“चुनाव आयो भने नेताहरु गाँउमा आउँछन्, तिमीहरुलाई लालपुर्जा दिन्छम् भन्छन्, तर जितेर गए भने सबै बिर्सन्छन्” रामबहादुरले भने । “सरकार चलाउने जनप्रतिनिधिसँग हाम्रो धेरै मागपनि छैनन्, शिक्षा, स्वास्थ्य निःशुल्क गराईदिए हामी जस्ता गरीवलाई धेरै राहत हुने थियो” उनले भने ।

पाँच वर्षमा आउने सबै निर्वाचनमा सबैदलका उमेदवारले सुकुम्वासी समस्या समाधान गर्छु, शिक्षा, स्वास्थ्य निःशुल्क गर्छु भनेपनि आधारभूत कामपनि नगरेकोले नागरिक निराशामा छन् ।

२०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले बस्तीका केही बाटोमा ग्राभेल गरे तर, आफूहरूको चाहना बाटोमा ग्राभेल नभई लालपुर्जा पाउनुपर्ने उनको भनाई छ । “चुनावमा घाम पानी, भोक प्यास नभनी घण्टौ लाइन कुरेर भोट दियौ, काम गर्ने बेलामा जनप्रतिनिधिले बाचा सवै बिर्सिए” उनले भने ।

यसपालिको चुनावमा उनलाई भोट नदिउँ कि जस्तो लागेको छ । आफूले चाहेजस्ता, नागरिकको हितमा काम गर्ने उम्मेदवार यो पटक पनि नदेखेको उनले बताइन् । हामीले लालपुर्जा माग्न लागेको धेरै भयो, तर नेताहरुले सुनेको नसुन्यै गर्छन्, तिनलाई भोट किन दिने” ? प्रतिप्रश्न गर्दै उनले भनिन् ।

अबको निर्वाचनबाट सुकुम्वासी समस्या समाधान गर्ने नेता आओस् भन्ने उनको चाहना छ । नेपालको कुल क्षेत्रफलको लगभग २८ प्रतिशत जमिन आवादी छ । यस आवादी क्षेत्रको करिब ७५ प्रतिशत जमिन नापजाँच भई राज्यको आधिकारिक दर्ता रजिस्टरमा अभिलेख भई दर्ता स्रेस्ता र प्रमाणपूर्जा तयार भएको छ ।

आवादी क्षेत्रको बाँकी लगभग २५ प्रतिशत जग्गामा लामो समयदेखि नागरिकको बसोबास, आवाद भए पनि सो क्षेत्रको नापनक्सा वा दर्ता स्रेस्ता कायम हुन नसकेको र बसोबासीले जग्गा धनी प्रमाणपुर्जा प्राप्त गर्न नसकेको अवस्था छ ।

सरकारले विभिन्न मितिमा सुकुम्वासी समस्या समाधानका लागी आयोग बनाएपनि उक्त आयोगले अहिलेसम्म काम गर्न सकेको छैन । अवको निर्वाचनमा नागरिकका समस्या समाधानगर्ने नेता भेटिएमा उसैलाई भोट दिने घोराही उपमहानगरपालिका ६ का भुमिहिन लाल बहादुर चौधरी  बताउँछन् ।

“निर्वाचनका बेला यो दिन्छु त्यो दिन्छु भनेर नेताहरूले आश्वासन दिन्छन्, जितिसकेपछि जनताको घरदैलोसम्म पनि आउँदैनन्” चौधरीले भने । वडा नं ६ प्रतिभा टोलको ऐलानी बस्तीमा उनी जस्तै २० घर परिवार छन्, उनीहरुका समस्या भने ज्यूका त्यू छन् ।

“अहिले त स्थानीय सरकारले पनि हाम्रो समस्या समाधान गर्न सक्छ भन्छन्, जसले हाम्रो समस्या समाधान गर्छ त्यसलाई भोट दिईन्छ” चौधरीले भने । वितेको ५ वर्षमा जनप्रतिनिधिहरुले गरेका कामप्रति मतदाता नै सन्तुष्ट छैनन् । मतदाताको अपेक्षा अनुसार उनीहरुले काम गर्न नसकेको उनीहरुको आरोप छ ।

नागरिक अब ठाँउको ठाँउ काम होस् भन्ने चाहना राख्छन्, तर हाम्रा जनप्रतिनिधिहरुले त्यसो गरेनन्, हुन्छ हुन्छ मात्र भनिरहे, त्यसैले अहिले समस्या लिएर आउने नागरिकको काम जनप्रतिनिधिले तुरुन्तै गर्ने खालको हुनुपर्ने महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङका राजनीति शास्त्रका प्राध्यापक प्रविण शर्मा बताउँछन् ।

“अहिले सञ्चारको युग भएकोले पनि भारतको आम पार्टीको जस्तो काम स्थानीयस्तरका नेताबाट होस् भन्ने चाहाना नागरिकले राखेका छन” सुवेदीले भने । कार्यक्रर्ता, नजिकको मान्छे, ठेकेदार, व्यापारी जहाँबाट आफुलाई फाईदा हुन्छ त्यो नै जनप्रतिनिधिको नजिक भएको मतदाताको बुझाईलाई चिर्नपनि अहिले गुनासो सुन्ने र उनीहरुको समस्या तुरुन्तै समाधान गर्ने नेताको खोजीमा नागरिक रहेको उनको बुझाई छ । जुनसुकै राजनीतिक दलले पनि जनताबीच लोकप्रिय भएको व्यक्तिलाई उम्मेदवार बनाउन खोज्छन् ।

पछिल्लो समय वडाध्यक्षसम्मको उमेदवार खोज्दा धनी र खर्च गर्न सक्ने व्यक्ति खोज्ने चलन चलेको छ । जनतामा भिजेकोे तर खर्च गर्न नसक्ने व्यक्तिलाई दलहरूले पत्याउँदैनन् । यस्तो प्रवृति अंगालेका हाम्रा दलहरुले नागरिकको पक्षमा काम गर्छन् भन्ने विश्वास मतदातामा नभएको उनले बताए । “पैसा खर्च गर्न सक्ने ब्यक्ति उमेदवार भएपछि भोट किनेबेच हुन्छ, त्यस्तावाट विकासको अपेक्षा गर्न सकिन्छ र ?” उनले प्रश्न तेर्साए ।

राजनीतिक विश्लेषक सर्जन गौतमका अनुसार हरेक मतदाता राम्रो व्यक्ति उम्मेदवार होस भन्ने चाहन्छन् । उमेदवार हुने मान्छेले कति काम गर्छ भन्ने हेर्नलाई उसको विगत पनि जान्नुपर्ने हुन्छ, जनस्तरमा कत्तिको भिजेको हो ? कति इमान्दार, नैतिकवान छ भन्ने कुरा पनि मतदाताले थाहा पाउनुपर्छ ।

यो निर्वाचनमा विजयी भएपछि आफ्नो कार्यकालमा गर्ने योजनाहरु के के हुन् अर्थात केही सुधारेर लैजान्छु भन्ने सोंच भएको, काम गर्ने उर्जा भएको मानिस छान्नुपर्छ । यस्ता उम्मेदवारका पक्षमा सबै बोल्नुपर्छ । मतदातालाई पनि त्यस्ता व्यक्तिलाई विजयी बनाउन सिकाउनुपर्छ ।

अहिले चुनाव खर्चिलो बन्दै गएपछि इमान्दार, उर्जावान तर पैसा खर्च गर्न नसक्नेलाई राजनीति गर्न अप्ठेरो भएकोले त्यसलाई चिर्नकोलागी पनि भिजन सहितको उमेद्वार दलहरुले उठाउन आवश्यक छ ।

कस्ता उमेद्वार उठाउँदै छन् दलहरु ?

नेकपा एमाले

एमालेबाट अहिलेसम्म वर्तमान मेयर नरुलाल चौधरी र उपमेयर सीता न्यौपाने सिग्देल मेयरको दौडमा छन् । चौधरी नेकपा एमालेको पोलिटब्यूरो सदस्य हुन् भने न्यौपाने केन्द्रीय सदस्य हुन् । सत्तारुढ गठबन्धनसँग प्रतिष्पर्धा गर्नको लागि वर्तमान मेयर चौधरीलाई अगाडी सार्ने योजनामा एमाले छ । नरुलालको पाँच वर्षे कार्यकालमा फोहरवाट ग्याँस उत्पादन गरेर एउटा उदाहरणीय काम गरेका कारण पनि गठबन्धनसँग भिड्न सक्ने एमालेको तर्क छ ।

२०७४ सालको निर्वाचनमा २२ हजार २२ हजार मतले निर्वाचित हुँदा नेपाली कांग्रेसले १७ हजार ४ सय ८४ मत पाएको थियो । सोही मत परिणामलाई आधार मान्दै नरुलालले निर्वाचन जित्ने दावी गर्दै मेयरको रुपमा अगाडि सार्न लागिएको नेकपाको एक जिल्ला नेताले बताए । तर न्यौपानेले सधै महिलालाई दोस्रो पद मात्र दिन नहुने बताउँछिन् ।

एउटा कार्यकाल उपमेयर चलाईसकेपछि मेयर चलाउन आफू योग्य रहेको उनको दावी छ । पाँच वर्षमा गरेको काम, संगालेको अनुभव र महिला प्रतिनिधित्वका हिसाबले आफ्नो दाबेदारी बलियो रहेको उनी बताउँछिन् ।

गठबन्धनका तर्फवाट नेकपा (माओवादी केन्द्र)

गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिका माओवादी केन्द्रलाई परेपछि माओवादी केन्द्रबाट स्वच्छ छवि बनाएका शान्त स्वाभावका युवा नेता हेमराज शर्मा डायमण्ड मेयर पदको प्रतिष्पर्धामा छन् । कार्यकर्ता माझ लोकप्रिय, कुशल संगठक नेताको रुपमा स्थापित शर्मा अन्य दलकासँग पनि मित्रवत ब्यवहारका कारण लोकप्रिय मानिन्छन् ।

२०७४ सालमा नेपाली कांग्रेसको मत १७ हजार ४ सय ८४ र माओवादी केन्द्रले पाएको १२ हजार ८२ मत जोड्दा पनि गठबन्धन बलियो भएका कारण पनि हेमराज शर्मा डायमण्डको पल्ला भारी देखिन्छ । व्यवसायिकदेखि सामाजिक र धार्मिक संघसंस्थाको नेतृत्व गरेको, दाङको पीडा र समस्या बुझेको, नगरवासीहरूले पत्याएको र नेताहरूले विश्वास गरेका नेताको रुपमा उनलाई लिनलाई गरिन्छ । माओवादी केन्द्रको भागमा घोराही उपमहानगरपालिका परेपछि नेपाली कांग्रेसले उपमेयर उठाउने भएको छ ।

दाङ जिल्लामा सत्ता गठबन्धनको मुख्यघटक कांग्रेसभित्र एक्लै चुनाव लड्नुपर्ने मत बलियो छ । जिल्ला सभापति शंकरप्रसाद डाँगीले जिल्लामा कांग्रेस एक्लै चुनाव जित्न सक्षम रहँदा रहँदैपनि केन्द्रको निर्यणलाई अनुशरण गर्दै गठबन्धनका उमेदवारलाई विजयी बनाउने अभियानमा लाग्नुपर्ने बताउँछन् ।

कांग्रेसभित्र गठबन्धन भएका कारण माओवादीलाई भोट नहाल्ने कार्यकर्तालाई रोक्न नसकिने घोराही उपमहानगरपालिकाका सभापति तिलक रावत बताउँछन् । तर पार्टीको निर्देशन कार्यान्वयमा आफूहरु प्रतिबद्ध रहेको पनि उनले बताए ।

२०७४ को निर्वाचनमा कांग्रेश भित्रको आन्तरीक कलहका कारण आफ्नो उमेदवारले हारेको बताउँदै सभापति रावतले यसपालि गठबन्धका उमेदवारलाई विजयी बनाउनुपर्ने आफ्नो दायित्व पुरा गर्न कटिबद्ध भएको बताए ।