• चैत्र २५ २०८१, मंगलवार

लम्बिँदै भ्रष्टाचारका पुराना मुद्दा, नयाँ मुद्दा थपिँदै, पुराना अप्राथमिकतामा

बैशाख ९ २०७९, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारसम्बन्धी पुराना मुद्दाहरू प्राथमिकतामा पर्न सकेका छैनन् । भ्रष्टाचारसम्बन्धी हाई प्रोफाइल मुद्दा समयमा पेसी नचढ्ने, पेसी चढे पनि हेर्न नमिल्ने, हेर्न नभ्याइनेमा पर्दा झन् लम्बिँदै गएका छन् ।

दुईव वर्षपछिसुनुवाइमा परेको नेपाल आयल निगमका तत्कालीन कार्यकारी महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचारसम्बन्धी मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ, हरिप्रसाद फुयाँल र नहकुल सुवेदीको पूर्ण इजलासले भ्रष्टाचारसम्बन्धी मुद्दामा बिहीबार अपुग फाइल झिकाउने आदेश गरेको हो । यो २०७२ जेठ ८ मा दर्ता भएको मुद्दा हो ।

यसअघि पनि यस मुद्दामा पाँचपटकसम्म निर्णय, फाइल मगाउने आदेश भइसकेको छ । यसअघि २०७६ माघ १६ मा इजलासमा सुनुवाइ भएको थियो ।

दुई वर्षपछि फेरि मिसिल झिकाउने आदेश भएको हो । पाँच वर्ष नाघेका २ हजार ५ सयभन्दा बढी मुद्दा सर्वोच्च अदालतमा छन् । अख्तियारले २०६० वैशाख २५ मा पूर्वमन्त्री गोविन्दराज जोशीसमेत आठजनालाई भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको थियो । त्यसपछि विशेष अदालतमा मुद्दा दर्ता भएको थियो ।

विशेष अदालतले जोशीविरुद्ध २ करोड १६ लाख १४ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । विशेषको ठहरविरुद्ध सर्वोच्चमा सात वर्षअघि पुनरावेदन निवेदन दर्ता भएको थियो । जोशीलगायतको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छन् । यो समाचार नागरिक दैनिकमा छ ।