काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाल नेकपा (एमाले)लाई सकस भएको छ ।
महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन बिहीबार बसेको सचिवालय बैठक उम्मेदवार टुंगो नलगाएरै सकेको छ ।
यसअघि सोमबार बसेको सचिवालय बैठकले बिहीबारको बैठकबाट उम्मेदवार टुंगो लगाउने निर्णय गरेको थियो ।
उम्मेदवारको थप अध्ययन गरेर शनिबारको सचिवालय बैठकबाट टुंगो लगाउने निर्णय बैठकले गरेको एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए ।
सत्तारूढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट गरेर उम्मेदवार टुंगो लगाउन पार्टीको आन्तरिक तयारीमा जुटेका बेला एमालेले पार्टीका तर्फबाट स्थानीय तहमा बढी प्रभाव भएको उम्मेदबारको खोजीमा छ ।
३० वैशाखमा स्थानीय तहको निर्वाचनमा ७५३ पालिकामा एकै चरणमा हुने निर्वाचन हुँदै छ । यो समाचार राजधानी दैनिकमा छ ।