• फाल्गुन २६ २०८२, मंगलवार

लुहान्स्कको ८० प्रतिशत भूभाग रुसले कब्जा गरेको युक्रेनको स्वीस्कारोक्ति

बैशाख ८ २०७९, बिहीबार

काठमाडौं । युक्रेनका अधिकारीहरुले रुसी फौजले लुहान्स्कको ८० प्रतिशत भूभाग कब्जा गरिसकेको स्वीकारेका छन् । लुहान्स्क क्षेत्र युक्रेनबाट अलग घोषणा गर्ने पूर्वी युक्रेनस्थित दोनबास क्षेत्रका दुई ओब्लास्ट मध्येको एक हो ।

बुधबार युक्रेनका लुहान्स्क क्षेत्रीय सैनिक प्रशासनका प्रमुख शरही हैडाईले टेलिग्राममा यसको घोषणा गरेका थिए ।
‘हाम्रो फौजले क्रेमिन्ना छाडेदेखि रुसी नियन्त्रणमा रहेको क्षेत्र ८० प्रतिशत पुगेको छ,’ हैडाईले भनेका छन् । मंगलबार रुसले लुहान्स्कको एक सानो सहर क्रेमिन्नामा कब्जा जमाएको थियो ।

फेब्रुअरी २४ मा रुसले आक्रमण सुरु गर्नुअघि युक्रेनको नियन्त्रणमा लुहान्स्कको ६० प्रतिशत भाग पथ्र्यो तर अहिले यो घटेर २० प्रतिशतमा झरेका छ । राजधानी किभ कब्जा गर्न प्रयास असफल भएपछि पछिल्लो समय रुसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रीत गरेको छ ।

दोनबास क्षेत्रका दुई ओब्लास्टहरु लुहान्स्क र दोनेत्स्क युक्रेनको ओद्यौगिक केन्द्र मानिन्छन् । त्यहाँ रुसी भाषीको उलेख्य उपस्थिति रहेको दोनबास क्षेत्रमा कोइला खानी, धातु संयन्त्रदेखि भारी उपकरण निर्माण गर्ने फ्याक्ट्रीहरु छन् ।

सन् २०१४ मा रुस समर्थित विद्रोहीले लुहान्स्क र दोनेत्स्क युक्रेनबाट छुट्टिएको घोषणा गरे यता लडाई चलिरहेको छ । रुसको प्रत्यक्ष आगमनले विद्रोहीहरुको हात माथि परेको छ ।

युक्रेनले लुहान्स्क र दोनेत्स्कलाई पुनकब्जा गर्न आठ वर्षदेखि गरिरहेको प्रयास अहिले कमजोर बन्दै गएको छ ।
रुसले युक्रेनमाथि युद्ध सुरु गर्नुअघि लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र गणतन्त्रको मान्यता दिएको थियो ।

हाइडाईका अनुसार लुहान्स्कमाथिको रुसी बमबारी यति उच्च छ की मानिसहरु बम सेल्टर छाड्न सकिरहेका छैनन् । क्रेमिन्ना नियन्त्रणमा लिएपछि रुसी फौज रुविझ्ने र पोपस्नातर्फ अघि बढेको पनि हाइडाईले जानकारी दिए ।

लुहान्स्कका अतिरिक्त दोनेत्स्क क्षेत्रमा पनि युद्ध चकिएको छ । युद्ध मारियापोल बन्दरगाह सहरमा चर्किरहेको छ ।