मान्म । यही बैसाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका कारण नेपालको राजनीतिमा तरंग पैदा भएको छ ।
स्थानीय तहका विभिन्न पदहरुका लागि उमेदवार बन्ने होडबाजीका कारण एउटा पार्टीमा टिकट नपाउने अवस्था भएमा आकांक्षीहरुले दल बदल्ने क्रम पनि चलिरहेको छ ।
पार्टीमा क्षमता र योगदानको कदर हुनुपर्छ भन्ने बहस सबै पार्टीहरुमा हुन्छ तर त्यो कुरा व्यवहारमा खासै लागू भएको पाइँदैन । पार्टीले जनताको सेवा गर्नका लागि सही नेतृत्व छानोस् भन्ने चाहना सबै कार्यकर्ताको हुन्छ ।
निजी स्वार्थका लागि नभई सामाजिक काममा लाग्ने व्यक्ति छान्नका लागि पनि पार्टी नेतृत्वलाई सकसक परिरहेको हुन्छ ।
यसैबीच कालिकोटको खाँडाचक्र नगरपालिकाको वडानम्बर ८ मा प्रकाश चौलागाईंले स्वतन्त्ररुपमा उमेदवारी दिने घोषणा गरेका छन् । उनले वडाध्यक्षमा उमेदवारी दिनेछन् । उनी माओवादी केन्द्रका कार्यकर्ता हुन् ।
पार्टीले टिकट नदिने अवस्था आएका कारण उनले स्वतन्त्र उमेदवारी दिने मनसाय बनाएका हुन् । उनी व्यवसायी हुन् ।