• मंसिर २० २०८१, बिहीबार

अब कसरी अघि बढ्ला पल शाहविरुद्धको बलात्कार मुद्दा ?

बैशाख ६ २०७९, मंगलवार

काठमाडौं । कलाकार पूर्णविक्रम शाह(पल शाह)लाई बलात्कार आरोप लगाउँदै अदालत गएकी बालिकाले बयान फेरेपछि अब यो मुद्दा कसरी अघि बढ्छ भन्ने सबैमा चासो छ । शुरुमा आफू बलात्कृत भएको भन्दै दिएको बयान पीडित नाबालिगले एकाएक अदालतमा बकपत्र दिदाँ बयान फेरिन् ।

तनहुँ जिल्ला अदालतमा आइतबार भएको बकपत्रमा उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी हुन् । उनले बयान दिने क्रममा पल शाह निर्दोश भएको भन्दै आफू दबाबमा परेर उजुरी दिएको भन्दै न्यायाधीश समक्ष रोइन् । अदालतमा पीडित नाबालिगले बयान दिने क्रममा पुगेकी मानवअधिकार आयोगका पूर्व आयुक्त समेत रहेकी अधिबक्ता मोहना अन्सारीले पुरुषबाट महिला कसरी होस्टाइल हुन्छन् भन्ने प्रतिनिधि घटना तनहुँमा आफू स्वयंले देखेको बताइन् ।

अदालतमा बालिकाले दिएको बयानले एकातर्फ उनी ‘होस्टाइल’ भएको हुनसक्ने देखिएको छ भने अर्कोतर्फ उनीमाथि नै कानुनी कारबाही सम्भावना पनि बढेको छ । अदालतले प्रहरीबाट आएको बयानलाई प्रमाण नमान्ने भएकाले पनि बालिकाले अहिले दिएको बकपत्र महत्वपूर्ण मानिन्छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गत ११ फागुनमा जाहेरी दर्ता गराएका थिए । केही दिन फरार भएका शाह १५ फागुनमा प्रहरीको सम्पर्कमा आएका थिए । तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि कारागार पठाइसकेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरेको थियो ।

पूर्पक्षको लागि कारागार चलान गर्ने तनहुँ अदालतको आदेशविरुद्ध पल शाह पक्षका कानुन व्यवसायीले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । शाहलाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको थियो । उच्च अदालतले पेशी तोकिसकेको छैन ।

होस्टाइल हुनु भनेको के हो ?

होस्टाइल हुनु भएको पहिले दाबी गरेभन्दा पीडितले फरक बयान दिनु हो । पीडितले अदालतमा जाहेरी तथा प्रहरीमा गरेको कागजलाई पुष्टि गर्ने बकपत्र गर्नुको साटो झूठो ठहरिने गरी बयान दिनुलाई होस्टाइल भनिन्छ ।

यस्तो हुनुमा विभिन्न कारण हुन सक्छन्, जस्तैः पीडितमाथि दबाब, प्रभाव वा प्रलोभन । यसरी पीडकलाई सहयोग पुग्ने गरी बयान दिँदा पछि पीडित आफैलाई कानुनी कारबाही हुने सम्भावन हुन्छ ।

शाहमाथि होला कारबाही ?

तथ्य र प्रमाणबाट पुष्टि हुने अन्य आधार नदेखिएको अवस्थामा पीडित पक्षले बयान फेरेमा अदालतले आरोपितलाई सफाइ दिने सम्भावना धेरै हुन्छ । यसअघि पनि पीडितले बयान फेर्दा बलात्कारलगायत घटनामा आरोपित उम्किएका थुप्रै नजिर पनि छन् । तर यो मुद्दामा अदालतले प्रमाणको रुपमा शाहको अडियो टेप, स्वास्थ्य रिपोर्ट प्रतिवेदन र बालिकाले प्रलोभनमा परेर बयान फेर्न पनि सक्ने लागेमा न्यायाधीशले पूर्णविक्रम शाह(पल शाह)लाई जेल सजाय तोक्न पनि सक्छ ।

१८ वर्षमुनिका बालिकासँग सहमतिमै सम्बन्ध राख्दा पनि बलात्कारसरह हुने कानुनी व्यवस्था छ । १८ वर्षमाथिको पीडित भएको अवस्थामा उसको बयानलाई मुख्य आधार मानिने भए पनि नाबालिकाको हकमा अदालतले अन्य प्रमाणसमेत हेर्ने गर्दछ ।