• फाल्गुन २४ २०८२, आईतवार

एमालेले चुनाव सार्ने सडन्त्रको कडा प्रतिवाद गर्ने

बैशाख ६ २०७९, मंगलवार

काठमाडौ. । एमालेले ३० वैशाखमा हुन गइरहेको चुनाव सार्ने षड्यन्त्रको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो ।

सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँडलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकाल्दै बैठकले त्यस्तो षड्यन्त्रविरुद्ध सचेत रहन र निर्वाचनको पूर्णतयारीमा लाग्न सबै तहका कमिटीलाई निर्देशन दिने निर्णय गरेको छ ।

‘हामीलाई चुनाव सार्ने षड्यन्त्रको आभाष भइरहेको छ, त्यस्तो षड्यन्त्रको कडा प्रतिवाद गर्छौँ, कुनै पनि हालतमा चुनाव रोक्ने षड्यन्त्रलाई निस्तेज पार्छौँ,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘तलका सबै कमिटीलाई त्यस्तो षड्यन्त्रको अलमलमा नपरी चुनावको तयारीमा लाग्न निर्देशन दिने बैठकले निर्णय गरेको छ ।’

बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिले तयार पारेको निर्वाचन घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले ९ वैशाखमा चुनावको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

घोषणापत्रले समेटेको विषयवस्तुबारे पोखरेलले बैठकलाई जानकारी गराएका थिए । त्यस्तै, बैठकले प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूचीमा रहेका कतिपय व्यक्ति पालिका र वडा कमिटीबाट उम्मेदवारका लागि सिफारिस आएकाले उनीहरूको नाम सूचीबाट हटाउने निर्णय गरेको जानकारी निर्वाचन आयोगलाई दिने बैठकले निर्णय गरेको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।