श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन्। मन्त्रिपरिषद् विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको समाचार संस्था एएनआईले जनाएकाे छ ।
त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरू पनि तीव्र रूपमा हुने र समस्या तथा असन्तुष्टिहरूको सम्बोधन हुने आशा गरिएको उनले बताएका छन्। नवनियुक्त सबै मन्त्रीहरूलाई आज सोमबार नै राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रिपरिषद्को पुनर्गठन गरेका हुन्। । नयाँ थपिएका मन्त्रीहरूमध्ये आठ जना पुराना मन्त्री नै दोहोरिएका छन् । यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रिपरिषद्का सबै २६ सदस्यले सामूहिक राजीनामा दिएका थिए ।
देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि नागरिक आन्दोलित भएकाले मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक सङ्कटका कारण श्रीलङ्कामा अत्यधिक मूल्य वृद्धि भएको छ भने कतिपय वस्तु तथा सेवाको चरम अभाव भएको छ ।