• मंसिर ११ २०८१, मंगलवार

भ्रुण हत्या गरिएको सिर्जना : जो कहिल्यै छापिने छैन !

बैशाख ४ २०७९, आईतवार

पारिजातले तीनवटा उपन्यासको पाण्डुलिपी जलाएर न्यानो तापिसकेकी छिन् । त्यस्तै मैले पनि एउटा उपन्यासको पाण्डुलिपी अँध्यारो कुनामा थन्क्याएर सडाई सकेको छु । सिर्जनालाई प्रकाशन नगर्नु पनि जलाए सरह नै हो ।

मेरो उपन्यासको पाण्डुलिपीको विषयवस्तुका बारेमा एकमात्र पाठक मेरी माइली बहिनी रमेला श्रेष्ठ साक्षी छिन् । उनले मलाई सो उपन्यास कैंयौपल्ट प्रकाशन गर्न अनुरोध गरेकी थिइन् ।

तर मैले त्यो उपन्यासको पाण्डुलिपीलाई कहिल्यै प्रकाशन गर्ने चाहना गरिन । किन कि त्यसमा लेखिएका कयौं प्रसंगहरुमा आउने पात्र म पनि एकजना अवस्य हुँ ।

किन कि त्यो सत्य घटनामा आधारित उपन्यास हो । मलाई लाग्छ कि, यदि त्यो उपन्यास जस्ताको तस्तै छापिएर बजारमा वा साथीसंगीहरुको हातमा पर्यो भने उनीहरुले मलाई नै उपन्यासको पात्र ठानेर गिज्याउने छन् र भन्ने छन्, ‘यो त यस्तो पो रहेछ !’

हुनसक्छ, त्यस उपन्यासभित्र मेरा आफ्नै निजी, मुर्त–अमुर्त समय र संकल्पहरु छन् होला । म आफैले भोगेका र गरेका कृयाकलापहरु पनि लेखिएका होलान् ! अथवा भनौं मेरो जीवनसित जोडिन आइपुगेको तर मेरो हुन नसकेको कसैका लागि प्रकाशित गर्न नहुने सन्दर्भ वा कसैको निजी जिन्दगीको यथार्थ अनि थोरै त मिथकपनि समिश्रण भएका होलान् ।

मैलै आफै लेखेर पनि त्यो उपन्यासलाई कहिल्यै पनि दोहोर्याएर पढिन । किन कि त्यसभित्रका धेरै विषय र प्रसंगहरुले मलाई चिमोटीरहन्छन् । आजभोली मलाई यस्तो लाग्छ, विगतका घटनाक्रमलाई वर्तमानसित किन जोड्ने र ? यदि मैलै उक्त उपन्यास प्रकाशित गरेको भए दुईवटा कुरा मेरा अगाडी आइपुग्थे ।

एक, कि मैले मानिसहरुबाट सर्वाधिक आलोचना खेप्नु पर्थ्यो वा अति नै प्रसंशा बटुल्न सफल हुन्थें । किन कि त्यो उपन्यास नितान्त आत्मकेन्द्रित, भावुकता र कल्पनाशिलताको समिश्रण थियो ।

सो उपन्यासका पात्रहरु सबै वास्तविक थिए । घटना र परिघटनाहरु पनि वास्तविक नै थिए । त्यो बाहिरी संसार थिएन । आफैभित्रको संसार थियो । किशोर अवस्थामा मनमा पलाउने भावहरुले सिंगारिएका पात्रहरुको मनोदशा थियो ।

प्रेमको आकांक्षा अनि आत्मस्वीकृतिको अभिव्यक्ति थियो । आज मलाई लाग्छ, कतै एकान्त जंगलमा फुलेको जंगली फूल, जुन फूललाई मैले बाहेक कसैले पनि आजको दिनसम्म देखेको छैन । सायद मैले प्रतिक्षा गरेको समय आउँछ भन्छन् तर मेरो लागि त्यो समय कहिल्यै आएन । भनौं समय भन्ने चीज पनि सौतेनी आमाको छोरा जस्तो पो हो की ? सधै रिसाउने र प्रतिद्धन्दी जस्तै ठान्ने ।

फरक माहोलको सिर्जना, युवा अवस्थाको संवेग, टुसाएको प्रेम, कहिल्यै हुन नसक्ने मिलन, यहि र यस्तै घनचक्करमा घुमिरहेको छ त्यो उपन्यास ।

मनमा मडारिइरहेको निरासा थियो वा उपायहीन समयको बाटो अथवा अभाव खट्किएको प्रेम वा उर्लंदो प्रेम कस्तो हो कस्तो ? आफैभित्र काउकुती लागेजस्तो । युवा अवस्थाको व्यक्त गर्न नसकिने व्यथा । उपन्यास छाप्न वा प्रकाशन गर्न नसक्नु आफैभित्रको जटिलता लाग्दछ मलाई ।

त्यसलाई प्रेसको ढोकासम्म पुर्याउन मलाई कसैलेपनि अवरोध गरेको पनि होइन । धेरै रात मेरो सिरानीको मुनी रहेको त्यो उपन्यासको पाण्डुलिपी, जसरी एकान्तमा बसेर कोरियो त्यसरी नै आजका दिनसम्म पनि एकान्तमै सडेर रहेको छ । आज सम्झन्छु, मैले पाण्डुलिपीलाई अन्याय पो गरेकी ? अथवा पाण्डुलिपीले नै गुमनाम रहेर आफ्नो अस्तित्व जोगाई रहेको पो हो कि ! खै किन हो मैले आजसम्म पनि बुझ्न सकिन ।

अनिदा रातहरुका साथी, म भित्रको मानिसहरुको द्वन्द्व, जीवनप्रति नै वितृष्णा हाल्नु उपन्यासको मूल जरो थियो । निरासा, पीडा, एक्लोपन र पर्खाइ आदि यस उपन्यासका सहायक जराहरु थिए । आत्मियताको एउटा फेरो समाई घोर अन्यौलमा कुहिरोभित्र हराउनु र त्यसैलाई जीवन ठान्नु उपन्यासको जिजीविषा थियो ।

हो, साँच्चिकै जीवनको विसंगती र अर्थहिनता मन्थन गर्न यस्तै खाले उपन्यास समाजमा आउनु पर्दछ भन्ने एकथरी पाठकहरु पनि नभएका होइनन् ।

मैले यस उपन्यासका बारेमा छोटो कथा सुनाएका साथीले त्यसरी सिर्जनाको आत्मा मार्नु हुँदैन बरु फरक नामका पात्रहरु उभ्याएर भएपनि त्यसलाई प्रकाशनमा ल्याउन सुझाव पनि दिएका छन् । तर खै के गर्नसक्छु थाहा छैन । मलाई लाग्छ, हरेकको मानिसको सिर्जना उसको आफ्नै सन्तान हो ।

जसलाई ऊ मिलकाउन सक्दैन । सकयक्रममा चेतनाको फरक उडानमा अनैकौं विचारहरु प्रस्फुटन हुनुपर्छ । समाजमा व्याप्त सामाजिक विभेद, वर्गीय विभेदको जालो र शोषण विरुद्धका आवाजहरु उठ्नु पर्दछ । तर सामाजिक विकृतिको जालोहरु भन्दा पनि व्यक्तिगत र मनका अन्तरकुन्तरको उकुसमुकुसलाई ओकल्ने र मन हल्का बनाउनेसम्मको स्थान पाएको त्यो मेरो उपन्यासको पाण्डुलिपी नेपाली साहित्यीक फूलबारीमा कहिल्यै फक्रेन र फुलेन ।

आगामी दिनमा पनि त्यो त्यही रुपमा फक्रने छैन । जसलाई मैले मेरो मानस्पटलमा सम्झनु बाहेक थप न्याय गर्न सक्दिन । मेरो मष्तिस्कमा टाँसिइरहेको पाण्डुलिपीलाई पटकपटक सम्झन्छु र आँखा र मनलाई दुःख दिनु बाहेक अरु गर्न सक्छु जस्तो पनि लाग्दैन ।

सम्झिरहें त्यही दिनदेखि
जुन दिनदेखि मनमा बसिरह्यो ऊ …।’
अस्तु ।