श्री गणेशाय नम : । स जयति सिन्धुरवदनो देवो यत्पापंकजस्मरणम् । वासरमणिरिव तमसां राशीन्नाशयति विघ्नानाम् ।।
नलाब्दे मध्यसस्यार्घवृष्टिभिः प्रवरा धरा । नृपसंक्षोभसंजाता भूरितस्करभीतय : ।। पिंगलाब्धे त्वीतिभितिर्मध्यसस्यार्घवृष्टय : । राजानो वित्तमाक्रांता भुन्जते शत्रुमेदिनिम् ।।
सदाझैं नेपालीहरुका घर आगनीमा नयाँ वर्षको आरम्भ भएको छ । राक्षस नामको सम्वत्सर सकिएर चैत्र शुक्ल प्रतिपदादेखि भनौँ चैत्र १९ गते देखिनै नल नामको सम्वत्सर शुरु भई विक्रम सम्वत् २०७९ शुरु भएकोे छ । नयाँ वसन्त, नयाँ उत्साह, नवीन वर्षले नयाँ जोस र जाँगर प्राप्त रहोस्, सबै नेपाली स्वदेश वा विदेश जहाँ बसे रहे पनि वर्षभरि नै शुभ रहोस् भन्ने शुभ कामना अर्पण गर्दै संक्षेपमा यस वर्षका विषयमा चर्चा गर्ने यो लेखको उद्धेश्य रहेको छ ।
श्रीशाके १९४४, श्रीसम्वत् २०७९ नल नामक सम्वत्सर, सूर्य उत्तरायण, वसन्त ऋतु, चैत्र शुक्ल त्रयोदशी तिथि, उत्तराफाल्गुनी नक्षत्र, ध्रुव योग, कौलवकरण वृहस्पतिबार, प्रात : ११ : १३ प्रवादन कालमा सूर्य मीनराशिबाट मेष राशिमा प्रवेश गर्दै चैत्रमास सकिएर बैशाख महिना शुरु भई नयाँ वर्षको आरम्भ हुँदैछ ।
तिथि, बार, नक्षत्र, योग र करण मिलेर बनेको पन्चाँगको श्रवण मात्रैले पनि गंगास्नानको फल मिल्ने शास्त्रीय मान्यता रहेको छ ।
वर्षमा जम्मा ६० वटा सम्वत्सर हुन्छन्, क्रमिक परिवर्तन हुने क्रममा यो वर्ष ५०औँ सम्वत्सर नल परेको छ । आउने वर्ष पिंगल नामको हुनेछ । सृष्टि शुरु भएको १ अर्ब ९५ करोड, ५८ लाख, ८५ हजार १ सय २३ वर्ष व्यतीत भएको छ ।
कलि आरम्भको समय भने ५ हजार १ सय २३ वर्ष व्यतीत भएको छ । यो वर्ष इ.सं २०२२ । २०२३ हो भने नेपाल सम्वत् ११४२ । ४३ हो । यो वर्षको राजा शनि हो र मन्त्री वृहस्पति हुन् ।
स्वभावैले शनिको प्रभाव रसिया, युक्रेनको चपेटा, श्रीलंकाको आर्थिक मन्दी राष्ट्रपति निवासमै ढुंगा हानाहान, हामीकहाँ पनि ऊर्जा संकट र यो पंक्ति तयार गर्दा पेट्रोल, डिजेलको ढुवानी ठप्प, सवारी भाडाको वृद्धिको खबर र दिनभरि खाना पकाउने ग्याँसको खोजी तर प्राप्ति नहुँदा निरस भई वर्षफल लेख्न बसेको समय हो । वर्षारम्भ पूर्व नै संसारमा वितण्डा देखिएको अवस्था हो ।
समग्रमा वर्षभरि मध्यम वृष्टि हुने, खाद्यान्नको अभाव देखिने, अनाज उत्पादनमा समस्या थपिने देखिन्छ, हिउँदे धानबाली केही वृद्धि देखिए पनि वर्षे धानमा गत वर्ष जस्तै कमी आउने सम्भावना छ ।
गत वर्ष जस्तै मौसममा समस्या, वायु प्रदुषणले विश्व रेकर्ड नेपालको अवस्था उही पुरानै देखिने छ । ज्वर आदि नागरिकको स्वास्थ्य समस्या, बलियाको रजाइँ, निर्धाहरुको आत्मग्लानी यो वर्ष पनि देखिने छ । खासगरी चोर फटाहाहरुको बिगबिगी रहने छ, गाँस, बास कपासको पीडा र रोगसँग लड्ने नागरिक क्षमतामा कमी हुनेछ ।
धर्तीको रसको मालिक मंगलका कारण उत्पादनमा कमी हुने हो, मेघका मालिक बुधका कारण वृद्धि भएको अनाजमा पनि रसमा कमी हुनेछ, सुख्खापनको डर बढी हुनेछ । गो धन खासगरी दुग्धादि पदार्थको भाउ वृद्धिको डर छ, फलका मालिक बुध भएकाले फलफूलमा केही सहजता देखिने छ ।
अन्तर्राष्ट्रियक्षेत्रमा इन्धन आपूर्तिमा कठिनाइ, राज्य राज्यका बीच फाटो, शासकहरुका बीच मतैक्यताको अभाव, म ठूलो भन्ने अहंपन, फलाम आदि धातुको मूल्यको तीव्र चाप, धनको मालिक राजा शनि भएकाले संसारभरि नै आर्थिक मन्दीको समस्या, आर्थिक वृद्धि दरमा कठिनाइ, सिमाका मालिक बुध भएकाले आँखा आँखा जुधाएर सिमानाको कुरा गर्न नसक्ने विविध समस्याहरु रहनेछन् यो वर्ष ।
यो वर्ष शनि क्रुर ग्रह जो राजा भएर बसेको छ, ऊ माघ २७ गतेसम्म मकर राशिमा रहने त्यसपछि कुम्भ राशिमा सर्ने छ । अत : माघ २७ सम्म धन राशिका मानिसलाई अन्त्य साढेसाती, मकर राशिकालाई मध्य साढेसाती र त्यसपछि अन्त्य साढेसाती दोष हुनेछ । कुम्भ राशिकालाई आद्य र यसपछि मध्ये साढेसाती, मीनलाई आद्य अनि मिथुन र तुला राशिकालाई अढैया शनि दोष रहनेछ र कर्कट अनि वृश्चिक राशिकालाई अढैया शनि दोष रहनेछ ।
यस्ता दोष भएकालाई भूठा आरोप लाग्ने, शत्रु भय हुने, मनमा चिन्ता हुने, सञ्चित धनको नोक्सानी हुने हुन्छ । चोट पटकको डर, काममा ढिलाइ, मान सम्मानमा आघात विभिन्न समस्या हुनसक्छ । आफ्नो जन्म कुण्डलीमा ग्रह उच्च छ, राम्रो स्थानमा बसेको छ, ३, ६ ११ स्थानमा बसेको छ भने शुभ फल दिने हुन्छ ।
अशुभ फल दिने संकेत भएमाले शनिको विशेष साधना, मन्त्र, जप, पीपलमा जल, गायत्री, दीक्षामन्त्र, नित्य पाञ्चायन पूजा, साधना, सूर्य, देवी, गणेश, शिव, विष्णु आदिको विशेष कृपा प्राप्तिका काम गर्नुपर्ने हुन्छ ।
नित्य उपासना, शरीर शुद्धि, पित्रीको सेवा, देवताको उपासना, सत्संगबाट मनलाई निर्मल गराउनु पर्ने हुन्छ, यथाशक्य दान पुण्य आर्जन गर्नु पर्ने हुन्छ ।
समय शुद्धिको हिसावले हेर्दा यो वर्ष असोज १३ गते वृहस्पतिबार पूर्वमा शुक्र अस्त हुन्छ र मार्ग ६ गते मंगलबार पश्चिममा उदय हुन्छ । त्यस्तै गुरु चैत्र १७ मा शुक्रबार पश्चिममा अस्त हुन्छन् । शुक्र, अनि वृहस्पति गुरु अस्त भएका बेला हामीले गरेका काम उनीहरुले नदेख्ने भएकाले नित्य पूजा आजा र नैमित्तक पितृकार्य बाहेक काम्य कर्म गर्न निषेध छ, फल मिल्दैन ।
काम्य कर्म भन्नाले नयाँ स्थान, तीर्थ, मन्दिर आदि, नयाँ उद्यानहरुको निर्माण, धाम आदि देवताको दर्शन, गृहारम्भ, प्रवेश, सप्ताह आदि, दीक्षा ग्रहण, व्रत उद्यापन, चूडाकर्म, ब्रतबन्ध, विवाह, वधु प्रवेश, महादान, उपाकर्म आदि पर्दछन् ।
विगतझैं यो वर्ष पनि थप रोगको सम्भावना, बजार महँगीले समाज थप संकटमा रहने, राजनीतिकर्मीहरु थप समस्यामा र बढी निर्दयी हुने देखिन्छन् । कोरोना त्रासमा बाँचेको अतीत र विगत थप समस्यामा झेलिन बाध्य हुने देखिन्छ ।
चोर, फटाहाहरुको विगत जस्तै समस्या हुने हुन्छ भने सरकारी उदासीनताले आम जनता मारमा पर्ने देखिन्छ ।
नयाँ वर्ष आरम्भ हुँदा यो युगको समय ४ लाख ३२ हजार वर्षमध्ये जम्मा ५ हजार १ सय २३ वर्षमा प्रवेश हुनेछ भने सृष्टिको क्रम भने १ अर्व ९५ करोड ५८ लाख ८५ हजार १ सय २३ वर्षमा हुनेछ । गत वर्ष राजा र मन्त्री मंगल भएकाले राजनीतिमा गाग्रो उल्टो फर्कियो, गठ जोड घटाऊ ।
गत वर्ष भय, त्रास, चिन्ता, हिंसाका घटनामा संसारमा वृद्धि भएझैं यो वर्ष पनि कमी आउने देखिन्न । मंगल अग्नि ग्रह हो जसबाट आगलागि, चट्याङ, डढेलो अल्प, खण्ड, अति वृष्टिको बाहुल्यता देखियो । जनतामा त्रास, भय, कृषिमा पनि खासगरी दुग्ध पदार्थमा उत्पादनको कमी र मूल्य वृद्धि भयो । ग्रह मध्ये शुक्र केही सकारात्मक भएकाले नयाँ धानको खेती, फलपूmलमा वृद्धि, गहुँको उत्पादनमा केही राहत मिलेको हो ।
तेलहनमा मूल्य वृद्धि भएको र मंगलकै कारण देशको सिमा सुरक्षामा पुरानो समस्या हल भएन । उत्पादनको कमी केही निर्यातको वृद्धि देखिए पनि आयातको वृद्धिले पहिलेझैं व्यापार घाटामा सुधार भएन, बरु थपियो, मुद्रा सञ्चिति घट्यो ।
अतीतको ताडनालाई सम्झेर हुने कुरा भइहाल्छ भनी नागरिक समाज कानमा तेल हालेर बस्नु भने हुन्न । यो वर्ष ३ थरि चुनावले देश थप रित्तिने त छँदैछ ।
शनि खुसी गराउन भने ॐ शनैश्चराय नमः १०८ मन्त्र जप्दै पिपलको फेदमा पानी हाल्दा पनि हुन्छ । श्री गणेशको सेवा त सधैँ गनु पर्छ, नयाँ वर्षमा झन् गर्नैपर्छ ।
स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, बस्त्र, सुन, धान्यादि बस्तुहरुको दानले तन, मन, धन सबै पवित्र बन्छ ।
बैशाखमा जल र अन्नदानको महत्व बढी छ भने तप र पूजाको अधिक महत्व छ । स्नानले मात्रै पनि यी फल प्राप्त हुन्छन् । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्काम भावले स्नान गरे जीवनमा परम गति प्राप्त हुन्छ ।
अन्य पुण्यकर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनुपर्छ भने वैशाख स्नानबाट सदाको लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रहरुले गर्जन गरेका छन् ।
कलियुगमा सदा यज्ञ, हवनादि कार्य संभव हुँदैन । पर्व विशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने कुरा शास्त्रहरुले पुष्टि गरेकाछन् । विभिन्न क्षेत्रहरुमा गरिने पुण्य कर्मले सत्य, त्रेता, द्धापर आदि युग विशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ ।
मानवजीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो । ज्ञानको प्रयोगको समय द्धापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो । जे होस्, सबैलाई शुभकामना, ईश्वरले सबैको दया गरुन्, कल्याण गरुन्, टाउको कसैको नदुखोस्, ठेस नलागोस्, अस्तु परिपूर्णंम् ।