• असार २० २०८१, बुधबार

सहिदका शालिक बनेपछि झिंगौरा झिलिमिली : टिकटक बनाउनेको लाग्यो लाइन

चैत्र ३० २०७८, बुधबार

दाङ, ३० चैत ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिंगौरामा बनेको पार्कमा अहिले दैनिक जसो नागरिकहरुको चहलपहल बढ्दै जान थालेको छ ।

घोराही-१४ को मनकामना सामुदायिक वनक्षेत्र झिंगौरा भित्र पार्क बनाइएको छ । जुन पार्कमा सयौं आन्तरिक पर्यटकहरु अवलोकन गर्न पुग्ने गरेका छन् । टिकटक बनाउन र फोटोे खिच्न जानेहरुको संख्या त्यसक्षेत्रमा उल्लेख्य देखिन्छ ।

पार्कमा घुम्न, फोटो खिच्न र टिकटक बनाउन पुगेकी रोल्पाकी बिनिता घर्तीले पार्कमा घुम्न आउँदा मन निकै खुशी भएको बताइन् ।

“मैले टिकटक पनि चलाउने गर्छु, टिकटकमा यहाँ आएर अरुले बनाएको भिडियो हेर्दा भित्रैदेखि यहाँको सुन्दरतासँग रम्न मन लाग्यो, अनि ६ जान साथीहरु भिंगौरा पार्क जाऔं भन्दै आएका हौँ र पार्क धेरै मन पर्यो” उनले भनिन् ।

यस्तै घोराही-१४ निमाहल रोडका सिनेश नेपालीलाई पनि हामीले पार्कभित्रै भेटायौँ । पार्कभित्रको हरियाली अनि सुन्दर र सानो सडकले मनै लोभ्याएको सिनेश नेपालीले पार्कभित्रको अवस्थाका बारेमा हामीलाई सुनाए ।

“बाहिरको तुलनामा यहाँ भित्रको संरचनामा रम्नुको मज्जा बेग्लै छ, तर यसलाई अझै व्यस्थित बनाउन सकेमा यहाँको पर्यटकीय सम्भावना भविष्यमा राम्रो देखिन्छ, त्यसैले यहाँ मैले बुझेअनुसार चौधरी समुदायको बसोबास रैछ, थारु समुदायको कला र संस्कृति प्रर्दशन गर्ने उचित ठाउँको रुपमा पनि पार्कलाई चिनाउन सक्ने मैले देख्छु” उनले भने ।

पार्कको अवस्था हेर्दा पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि भर्खरै काम थालेको जस्तो छ, अझै पार्ककालागि आवश्यक पूर्वाधार भयो भने बजार नजिकको पार्कमा संधै भिडभाड हुने उनको तर्क छ ।

गत जेठ २४ गते निर्माणको काम सम्पन्न गरेपनि त्यस क्षेत्रमा हरित पार्क निर्माण हुँदा देखि नै नागरिकहरुको चहलपहल बढ्न थालेको हो । वनभित्रको क्षेत्रमा २ सय मिटर लम्बाईमा टायल बिछ्याएर सानो बाटो बनाइएको हरितपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष लालबहादुर चौधरीले जानकारी दिए ।

पार्कभित्र एउटा गोलघर निर्माण र फूलका बिरुवाहरु रोपिएको छ । पार्कभित्र घुम्नसँगै जन्मदिन मनाउन आउने नागरिकहरुको चहलपहल समेत बढ्न थालेको उनले बताए ।

डिभिजन वन कार्यालय मार्फत् लुम्बिनी प्रदेश सरकारको १० लाख रुपैयाँ र उपभोक्ता समिति मार्फत् १ लाख १३ हजार ४ सय ९० रुपैया २२ पैसा गरी ११ लाख १३ हजार ४ सय ९० रुपैयाँ २२ पैसामा निर्माणको काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।

यस्तै घोराही उपमहानगरपालिका वडा नम्वर १४ का अध्यक्ष शक्तिराम डाँगीले झिंगौरा पार्कलाई पर्यटकीय स्थलसँगै आय आर्जन र कला संस्कृतिसँग जोडिएको विषय भएको बताउँछन् । २० हेक्टर क्षेत्रफलमा रहेको मनकामना सामुदायिक वनक्षेत्रमा वनविज्ञान सम्बन्धि अध्ययन गर्न सक्ने गरी विकास गर्न आवश्यक रहेको उनले बताए ।

“यसलाई बोटानीकल गार्डेनको रुपमा विकास गर्न सके घोराही उपमहानगरपालिकाको पहिचान दिने छ” अध्यक्ष डाँगीले भने । तर अवश्यकता अनुसारको बजेट व्यवस्थापन गर्न नसकिएको कारणले अहिले सामान्य पार्कको रुपमा मात्रै विकास गरिएको उनले बताए ।

चालु आर्थिक वर्षमा पार्कको स्तर उन्नतीका लागि घोराही उपमहानगरपालिकाले ६ लाख रुपैयाँ विनियोजन गरेकोले बाँकी काम यो आर्थिक वर्षमा सम्पन्न हुने उनको भनाई छ । “बजेट अभावका कारण केही समय त्यहाँको विकासले गति लिन नसकेपनि केही समय गति लिन्छ र त्यहाँ थारु संस्कृति र खानपिनको व्यवस्था गर्ने मेरो योजना छ” उनले भने ।

बाल उद्यान, सानो ड्याम, शौचालयहरु, पार्क भित्रै खानपिनको व्यवस्थापन जस्ता कुराहरुलाई व्यवस्थित बनाउन अझै करिव दुई ढाई करोड लगाउन सके साँचिकै पर्यटकीय स्थल र अनुसन्धान केन्द्रको रुपमा चिनाउन सकिन्छ भन्ने उनको विश्वास छ ।

अहिले पार्क क्षेत्रमा जनयुद्धको समयमा माओवादी भएकै कारण राज्यद्धारा मारिएका झिंगौराका तीनजना सहिदहरुको अर्धकदको शालिक पनि स्थापना गरिएको छ । घोराही वडा नं १४ को बजेटबाट उक्त शालिक निर्माण गरिएको हो । झिंगौराका ओमभक्त चौधरी (विजय), पृथ्वी चौधरी र लौटन चौधरीको शालिक निर्माण गरिएको हो ।