• मंसिर ८ २०८१, शनिबार

गभर्नर महाप्रसाद अधिकारी छानबिन समितिमा अर्थमन्त्री जनार्दन शर्माका आफन्त र माओवादी कार्यकर्ता मात्रै

चैत्र ३० २०७८, बुधबार

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न बनेको समितिमा अर्थमन्त्री जनार्दन शर्माका नातेदार र माओवादी कार्यकर्ता मात्रै रहेको खुलासा भएको छ ।

अमेरिकाबाट शंकास्पद रकम आएको खाता रोक्का गर्न अर्थमन्त्रीले दिएको ‘निर्देशन’ अस्वीकार गरेको प्रतिशोधमा गभर्नरलाई निलम्बन गर्दै जाँचबुझ गर्न थालिएको छ ।

तर, समितिको संयोजकमा अर्थमन्त्रीका नजिकका नातेदार दाइलाई राखिएको छ । अन्य दुई सदस्य पनि माओवादीकै कमिटीमा आबद्ध रहेको पुष्टि भएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न बनाएको समितिको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी तथा सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा छन् ।

अर्थमन्त्री शर्माका आफन्त तथा पार्टी कार्यकर्ताले रुकुमबाट दिएको जानकारीअनुसार मन्त्री शर्मा र पूर्वन्यायाधीश भण्डारी दिदीभाइका नातिहरू हुन् ।

‘दिदी भद्रशिला भण्डारीका नाति पूर्वन्यायाधीश हुन् भने उनका कान्छा भाइका नाति मन्त्री शर्मा हुन्,’ एक आफन्तले भने । यो समाचार कान्तिपुर दैनिकमा छ ।