• मंसिर १४ २०८१, शुक्रबार

नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा छैन, चाँडै समाधान हुन्छ : पूर्वगभर्नर नेपाल

चैत्र २९ २०७८, मंगलवार

काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको स्पष्ट पारेका छन् । उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास दिलाए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. नेपालले अहिले देखिएको समस्या छिट्टै समाधान हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘अहिले जुन रुपमा समस्या सुनिएको छ, त्यो रुपमा अर्थतन्त्रको समस्या छैन् । अहिलेको समस्या छिट्टै समाधान हुन्छ ।’

उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको स्पष्ट पारे । उनले भने,‘हाम्रो विदेशी ऋण पनि त्यति धेरै होइन । नेपालमा जिडिपीको २२ प्रतिशतमात्रै छ । श्रीलंकाको बाटोमा त हामी छँदै छैनौं । हामी सबैले संयमता अपनाउनुपर्छ । अहिले आँत्तिनुपर्ने अवस्था छैन् । यो समस्या छिट्टै नै समाधान हुन्छ। त्यो लेभलबाट गुज्रिएका छैनौं । तर, सतर्कता त हुनुपर्छ ।’

उनले संसारका धेरै देशमा सरकार र गभर्नरबीच टसल हुने गरेको सुनाए । उनले भने,‘गभर्नर पनि सरकारले नै बनाउने हो । नेपाल राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने हो । देशमा वित्तिय स्थायित्व लिएर आउने हो, शोधनान्तर स्थितिलाई राम्रो गर्ने अनि भुक्तानी प्रणालीलाई राम्रो गर्ने हो, सरकारलाई सल्लाहकारको रुपमा काम गर्ने हो । र, वित्तीय क्षेत्रलाई स्थायित्व गर्नको लागि दीर्घकालिन नीति तर्जुमा गर्नु हो । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय हुनुपर्छ । सरकार र गभर्नरबीच संसारभरि नै टसल पर्छ । मेरो बेलामा पनि भएको थियो । समन्वय नै गरेर अघि बढ्नुपर्छ ।’

उनले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराए । समयमै बजेट र मौद्रिक नीति नआएको र समग्र वित्तीय क्षेत्रमा ब्याजदर तोकिएको अवस्था पनि उनले स्मरण गराए । उनले आजपनि ३०४ अर्ब रुपैयाँ सरकारको ढुकुटीमा रहेको सुनाए ।