• मंसिर ८ २०८१, शनिबार

‘अर्थतन्त्र धरासायी हुनुमा गभर्नर दोषी’

चैत्र २९ २०७८, मंगलवार

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेसँगै सरकार र प्रतिपक्षी दलबीच जुहारी चलेको छ । नेकपा (एमाले)का तीन पूर्वअर्थमन्त्रीले सरकारले अर्थतन्त्र बिगारेको आरोप लगाएको भोलिपल्ट अर्थमन्त्री जनार्दन शर्माले त्यसको प्रतिवाद गरेका छन् ।

अर्थमन्त्री शर्माले अर्थतन्त्रमा असन्तुलन आउनुमा गभर्नर अधिकारीलाई दोषी देखाए । उनले वित्तीय सूचकमा समस्या आउन सक्ने केही संकेत देखिएपछि राष्ट्र बैंकलाई निर्देशन दिए पनि रोकथामका उपाय अवलम्बन नगर्दा समस्या सिर्जना भएको बताए । ‘तर प्रतिपक्षी दल एमालेले आरोप लगाए जस्तो अर्थतन्त्र संकटमा छैन,’ उनले भने ।

आफूले निर्देशन दिँदा पनि गभर्नरले चासो नदिएको शर्माले संकेत गरे । कर्जा प्रवाहमा कडाइ गर्न समयमै गभर्नर अधिकारीलाई निर्देशन दिए पनि बेवास्ता गरेको आरोप शर्माले लगाए । कर्जा प्रवाह १९ प्रतिशत हुँदा नियन्त्रण गर्न निर्देशन दिँदा राष्ट्र बैंकको नेतृत्वले बेवास्ता गरेको जिकिर उनले गरे ।

‘मौद्रिक नीतिमा कर्जा प्रवाहको लक्ष्य १९ प्रतिशत राखिएको छ,’ शर्माले भने, ‘नियन्त्रण गर्न आग्रह गर्दा सुनुवाइ भएन । ३२ प्रतिशत पुग्यो ।’

तोकिएको भन्दा बढी कर्जा विस्तार हुँदा समस्या भएको उनको दाबी छ । सहुलियतपूर्ण कर्जामा पनि अनियमितता भएको हुनसक्ने भन्दा त्यसमा पनि राष्ट्र बैंकका अधिकारीले बेवास्ता गरेको उनले बताए । ‘मोटो रकम रिफाइनान्स र सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ तर त्यो कहाँ गयो, भेटिँदैन,’ शर्माले भने ।

उनले क्रिप्टोकरेन्सी कारोबारको विषयमा पनि गभर्नर उदासीन भएको दाबी गरे । ‘पाँच महिनाअगाडि क्रिप्टोकरेन्सी र हुन्डी करोबारको बारेमा अनुसन्धान गर्न भनेको थिएँ,’ शर्माले भने, ‘त्यसबारे कुनै पनि सुनुवाइ भएन ।’

पत्रकारले गभर्नरलाई निलम्बन गर्नुको कारण सोधे पनि राष्ट्र बैंक ऐनअनुसार छानबिन समिति बनाएको भन्दै अर्थमन्त्रीले कारण प्रस्ट पार्न चाहेनन् । अर्थमन्त्री शर्माले गभर्नरमाथिको कारबाही र एमालेले लगाएका आरोपको खण्डन गर्न पत्रकार भेटघाट आयोजना गरेका हुन् ।

शर्माले सरकारले राष्ट्र बैंक ऐनअनुसार नै छानबिन समिति बनाएको जिकिर गरे । गभर्नरमाथिको आरोपबारे उनले प्रस्ट पारेनन्, छानबिन समिति बनेकाले एक महिनाभित्र तथ्य बाहिर आउने भन्दै उम्किए ।

‘राष्ट्र बैंक ऐनअनुसार नै गभर्नरमाथि छानबिन गर्न लागिएको हो,’ उनले भने, ‘समितिले प्रतिवेदन तयार गरेपछि सबै कुरा बाहिर आउँछ ।’

उनले विपक्षीले आरोप लगाएजस्तो अर्थतन्त्र खराब अवस्थामा नपुगेको दाबी गरे । आइतबार पूर्वअर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले मुलुकको अर्थतन्त्र संकट उन्मुख भएको बताएका थिए ।

अर्थमन्त्री शर्माले त्यसको प्रतिवाद गर्दै संकट अवस्थामा नगएको दाबी गरे । मुलुकको अर्थतन्त्रलाई राजनीतीकरण गर्न खोजिएको उनले बताए । यो समाचार नागरिक दैनिकमा छ ।