• मंसिर १४ २०८१, शुक्रबार

उपत्यकासहित बागमतीमा फेरि बढ्यो सार्वजनिक सवारी साधनको भाडा

चैत्र २६ २०७८, शनिबार

काठमाडौँ। काठमाडौँ। उपत्यकामा फेरि सार्वजनिक सवारी साधनको भाडादर बढाइएको छ । उपत्यकासहित समग्र बागमती प्रदेशमा आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी सार्वजनिक सवारी साधन र भाडाका ट्याक्सीको भाडादर बढाइएको हो ।

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले शुक्रबार उक्त निर्णय गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ । हाल ५ किलोमिटरसम्मको भाडादर १८ रुपैयाँ थियो । यद्यपि उपत्यकाका सार्वजनिक सवारी साधनले न्यूनतम २० रुपैयाँ भाडा लिँदै आएका थिए। अब ५ किमिसम्मको न्यूनतम भाडादर २० रुपैयाँ नै कायम गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा भाडा समायोजन गरिएको जनाइएको छ । अब समायोजित भाडादर अनुसार लोकलमा चल्ने सार्वजनिक सवारी साधनले ५ किलोमिटरसम्मको २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ रुपैयाँ र २० भन्दामाथि ३८ रुपैयाँ सम्म भाडा लिन सक्नेछन् । अघिल्लाे भाडादरमा २ देखि ३ रूपैयाँ मात्र बढाइएकाे हाे ।

यसैगरी भाडाका ट्याक्सीको पनि भाडादर समायोजन गर्दै प्रति २०० मिटरको भाडा १० रुपैयाँका दरले हुने निर्णय गरिएको छ । यसअघि उक्त दूरीकाे रेट ९ रूपैयाँ ८० पैसा थियाे ।

यसअघि बाग्मती प्रदेश सरकारले काठमाडाैँ उपत्यकासहितका सार्वजनिक सवारी साधनकाे भाडादर गत कार्तिकमा वृद्धि गरेकाे थियाे ।