• मंसिर १७ २०८१, सोमबार

घोराहीका १५ देखि २४ वर्षका ५९ प्रतिशत बालबालिका लागुऔषधको लतमा

चैत्र २४ २०७८, बिहीबार

घोराही, २४ चैत ।

‘घोराही खानेपानीले बनाउन लागेको घोराही-१४ सेवार खोलाको टंकी नजिक घाँस पात थुपारेर आगो लगाउँछन् । रातभरी बस्छन् । नजिकको बस्तीमा बाहिर सुकाएका तन्ना हराउँछन् । खोज्दै जाने हो भने त्यहिँ भेटिन्छन् ।’ घोराही-१४ को त्यसैक्षेत्रका एक स्थानीयले प्रहरीलाई सुनाउनु भयो ।

‘बाहिर हल्ला भएपछि हेर्न आएँ । राती साढे १२ बजेतिर हो, तिनवटा स्कुटरमा तिनजना केटा र तिनवटी केटी गरी ६ जना आएका रहेछन्, तिनले तपाईं बाहिर आउने को हो ? किन आउनु भयो भनेर थर्काए । म भित्र गएँ । नजिकै प्रहरी भइदिएको भए सजिलो हुन्थ्यो ।’
घोराहीको पुरानो बसपार्क नजिकका अर्काले थप्नुभयो ।

घोराही-१४ को वडा कार्यालयले समिक्षा तथा सार्वजनिक सुनुवाई भनेको कार्यक्रमका वक्ताहरु धेरैले लागुऔषधकै चिन्ता गरेका थिए । तिनका गुनासा सुन्दै जाँदा लागुऔषध सेवन गर्नेहरुले धेरै ठाउँमा समस्या सिर्जना गरेको अनुमान गर्न सकिन्थ्यो ।

टोलका अगुवाहरुले यस्तै हो भने युवायुवती चौपट हुने चिन्ता गरे । उनीहरुमा यो समस्या नियन्त्रण गर्ने काममा आफ्नो भन्दा पनि प्रहरीको भूमिका बढि भइदिए हुन्थ्यो भन्ने आशा बढि देखिन्थ्यो ।

उनीहरुले युवा पुस्ता बिग्रिने र विकृति फैलाउने कामलाई रोक्न प्रहरी गुहारेका थिए ।
घोराही-१४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेयर नरुलाल चौधरी हुनुहुनन्थ्यो । घर आगनको सरकार र त्यसका प्रमुख नै उपस्थित भएपछि स्थानीयले खुलेरै आफ्ना समस्या राखेका थिए ।

सो अवसरमा स्थानीयले सरकार प्रमुखलाई आफ्ना बालबच्चा सुधारीदिन आग्रह गरेका थिए । उनीहरुको भनाईले आफै सुधार्न नसकिने अर्थ दिन्थ्यो । सरकारले गर्नुपर्ने काम ठान्थ्यो । अभिभावकले आफ्नो बच्चालाई सुधार गर्ने भूमिका के हुने भन्ने कुरै उठाएनन् ।

उनीहरुका जिज्ञासाको जवाफ दिन वडा प्रहरी कार्यालय घोराहीका प्रमुख हृदेशकुमार सापकोटा तथ्यांक सहित उपस्थित हुनुभएको रहेछ ।

उहाँले भन्नुभयो । ‘म आउँदा बित्तिकै अनुसन्धान गयौँ’ प्रहरी प्रमुख साकोटाले थप्नुभयो, ‘तिन सय ९७ जना लागु औषधमा फसेको पायौँ । त्यसमध्ये ९२ जना सुधार गृहमा थिए । बाँकी एक सय ६७ जना बाहिर थिए ।’

गत वैशाखमा सरुवाभइ आउनुभएका प्रमुख सापकोटाका अनुसार यो तथ्यांक साउन महिनामा तयार पारिएको हो ।

त्यसरी लागुऔषधमा फसेका मध्ये १५ देखि २४ वर्ष उमेरका ५९ प्रतिशत रहेको प्रमुख सापकोटाको भनाइ थियो । उहाँका अनुसार केही मर्ने, केही सुधार हुने कारणले गर्दा तथ्यांक घटबढ भइरहन्छ ।

यसैगरी लागुऔषधको लतमा लागेका २५ देखि ४५ वर्ष उमेरका ३१ प्रतिशत छन् भने १५ वर्ष मुनिका आठ प्रतिशत छन् । यसको कारोबार गर्ने ७३ जना र प्रयोगकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

समग्र नियन्त्रण १७ प्रतिशतबाट ३२ प्रतिशत पुगेको छ । अहिले सुधारगृहमा पुग्नेहरु बढेर एक सय ६० जति छन् । महिला सुधारगृह पनि खुलेको छ । त्यहाँ पनि २० जना भन्दा बढि रहेको कार्यरत कर्मचारीले बताएका छन् ।

यसैगरी लागुऔषध नियन्त्रका लागि प्रहरीले एक सय ७४ सचेतना कक्षा चलाएको प्रमुख सापकोटाले जानकारी दिनुभयोे । तर त्यो कार्यक्रम कोरोनाका कारण रोकिएको छ ।

उहाँका अनुसार यसको नियन्त्रणका लागि समाजले पनि सकृय भूमिका खेल्नुपर्छ । त्यस्ता गतिविधि देखिए एक सयमा फोन गरेर जानकारी गराउनुपर्छ । वडा प्रहरी प्रमुख सापकोटा जोशिलो तथा जाँगरीलो युवा हुनुहुन्छ ।

बेही समयअघि मोटरसाइकल चोर्नेहरुको सञ्जालै फेला पारेर सापकोटाले निकै ठूलो हलचल ल्याउनुभएको थियो । चोर्ने, सप्लाई गर्ने, स्टोरमा राख्ने र विक्री गर्ने सबैलाई एकै रातमा समात्न प्रहरी सफल भएको थियो । यसक्रममा घोराही बजारमा चोरेको मोटरसाइकल सप्लाई गरेर भालुबाङ, रोल्पाको सुलिचौर लगेको पत्ता लगाएको थियो । मोटरसाइकल चोर्नेहरुको रोल्पासम्मको सेटिङ भत्काउनु निकै ठूलो सफलता थियो ।

कहिँ कतैका गलत घटनामा प्रमुख साकोटालाई मुछेको सुनिंदैन । यस अघिका दिनेश रिमाल पनि असल वडा प्रहरी प्रमुख नै मानिनु भएको थियो । अवस्था अनुसार एक्सन लिन र व्यवहारीकता मिलाउन रिमाल खप्पिस हुनुहुन्थ्यो ।

उहाँमा नीति र विधिमा दृढता थियो । सिभिलमा रिमाल एक्लै गाउँगाउँसम्म पैदल पुग्नुहुन्थ्यो । उहँ सबै अवस्थाको जानकारी राख्नुहुन्थ्यो । त्यसबेला पनि लागुऔषध नियन्त्रणमा निकै प्रगति भएको थियो ।

अहिलेका प्रमुख सापकोटालाई चैत १० गते एकहजार दुई सय नगद सहित जिल्ला प्रहरी कार्यालयले सम्मान गरेका थियो । समग्र कामको मूल्यांकन गरेको जिल्ला प्रहरी कार्यालयको भनाई थियो । यतिबेला तन्नेरीमा देखिएको लागुऔषधको कुलतमा फस्ने दर भने चिन्ता जनक छ ।

प्रहरीले भाङका बुटा नष्ट गर्ने, बिगो भेटाएर नियन्त्रणमा लिएर कार्वाही गर्ने, शंकास्पद मेडिकलहरुमा छापा मार्ने र उजुरी परेकालाई नियन्त्रणमा लिने काम गरिरहेको छ तर पूरा नियन्त्रण भएको छैन ।

यसमा समाजले पनि जिम्मेवारी लिन जरुरी छ । आफ्ना छोराछोरीको गतिविधिमा निगरानी बढाउनुपर्छ । आफूले नसके प्रहरीलाई रिपोर्टीङ गर्नेसम्मको कठोर बन्न जरुरी छ । हैन भने पढाई लेखाईमा लाग्ने र काम गर्ने युवा पुस्ता लागुऔषधमा झुल्ने खतरा रहन्छ ।