कोलम्बो। श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह गठन गरेका छन् ।
पछिल्ला केही दिनमा आर्थिक संकटमा फसेको श्रीलंकाका राष्ट्रपतिले बुधबार राति सो विज्ञ समूह गठन गरेको उनको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।सो समूहमा श्रीलंकाको केन्द्रीय बैंकका पूर्व गभर्नर, विश्व वैंकका पूर्व प्रमुख अर्थशास्त्री र आइएमएफका पूर्व निर्देशक रहेका छन् । उनीहरुले श्रीलंकाली राष्ट्रपतिसँग यस विषयमा छलफल पनि गरिरहेका छन् ।
हाल आर्थिक संकटमा फसेको श्रीलंकाका अर्थमन्त्रीले पनि यसअघि नै राजीनामा दिएका छन् । त्यसैगरी अन्य मन्त्रीहरुले पनि श्रीलंकाली राष्ट्रपतिसमक्ष सामूहिक राजीनामा दिएका छन् ।श्रीलंकाको आर्थिक क्षेत्रका यी विज्ञहरुको सुझाव र सल्लाहबाट यस देशले आफूलाई आर्थिक संकटबाट बाहिर निकाल्न सकिन्छ कि भन्ने प्रयास गर्ने बताइएको छ ।
श्रीलंका आर्थिक संकटमा फसेकाले यसको विकास र उद्वारका लागि विभिन्न उपायहरुको खोजी गरिरहेका बेला श्रीलंकाली राष्ट्रपतिले नियुक्त गरेका यी विज्ञहरुबाट थप सहयोग पुग्ने अपेक्षा गरिएको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।