• चैत्र २५ २०८१, मंगलवार

गुण्डा नाइके दीपक मनाङे सांसद-मन्त्री बन्दा पनि छुटेन कुटपिट गर्ने बानी

चैत्र २४ २०७८, बिहीबार

काठमाडौं । मनाङबाट प्रदेश सभा सदस्य जितेका ‘गुन्डा नाइके’ पृष्ठभूमिका राजीव गुरुङ उर्फ दीपक मनाङे अहिले गण्डकी प्रदेशका खेलकुदमन्त्री छन् । तर, पदअनुसार आचरण सुधार नहुँदा उनले मन्त्री पदलाई समेत मजाक बनाउँदै छन् ।

दुई वर्षअघि सार्वजनिक स्थलमै एन्फा कास्कीका अध्यक्षलाई झापड हानेर हिरासत पुगेका मनाङेले गत कात्तिकमा स्वकीय सचिवलाई कार्यवाहक मन्त्री तोकेर जग हँसाएका थिए । अहिले फेरि आफ्नै मन्त्रालयका कर्मचारी कुटेर ‘गुन्डा प्रवृत्ति’ देखाएका छन् ।

मन्त्री मनाङेले मंगलबार आफ्नै मन्त्रालयका सूचना अधिकारी प्रकाश ओझालाई कार्यकक्षमा बोलाएर लात्ती र थर्मसको बिर्कोले हानेका हुन् । मन्त्रीको बोलावटपछि फाइल बोकेर पुगेका ओझालाई सुरुमा ‘समयमा किन काम नगरेको’ भन्दै गाली गरेर थर्मसको बिर्को प्रहार गरेको एक कर्मचारीले बताए ।

त्यसपछि उनले तीन लात्ती पनि हानेका थिए । घटनापछि पीडित ओझाले सहकर्मीसँग पीडा पोखेका थिए । कर्मचारीलाई कुट्दा मन्त्रीको कार्यकक्षमा अन्य सातजना पनि थिए । उनीहरू मन्त्रीलाई भेट्न आएका थिए तर, कोही पनि यस विषयमा बोल्दैनन् । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।