• असार २३ २०८१, शनिबार

घोराही उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्न सकेन

चैत्र २२ २०७८, मंगलवार

दाङ, २२ चैत ।
दाङको घोराही उपमहानगरपालिकाले नगर बस सञ्चालन गर्ने आफ्नै नीति तथा कार्यक्रम लागु गर्न सकेको छैन ।

आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रम मार्फत् घोराहीमा नगर बस सञ्चालनमा ल्याउने नीति कार्यक्रम घोराही उपमहानगरपालिकाले पारित गरेको थियो ।

स्थानीय सरकारका जनप्रतिनिधिहरुले पाँच वर्षे कार्यकाल पुरा गर्दा समेत आफैले बनाएको नीति लागु गर्न सकेका छैनन् ।

राम्रा र नागरिक सरकोकारका नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन भने हालसम्म भएको छैन । आर्थिक वर्ष २०७५/०७६ को नीति कार्यक्रममा शहरी यातायात अन्र्तगत यातायात व्यवसायीसँग सहकार्य गरी रुट निर्धारण गरी नगर क्षेत्रमा सिटीबस सञ्चालन गरिनुका साथै पार्किङ व्यवस्थापनलाई व्यवस्थित गरिने उल्लेख गरिएको थियो ।

नीति कार्यक्रममा ल्याए पनि यसको कार्यान्वयन गर्न नसक्दा जनप्रतिनिधिहरुप्रति नागरिकहरुले गुनासो गर्न थालेका छन् । नगर बस सञ्चालन नहुँदा नगरवासीहरुले अटोमा धेरै रकम तिरेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

उपमहानगरपालिकामा नगर बस सञ्चालन गर्नका लागि जनप्रतिनिधिहरु आएपछि कुनै पनि निणर्य नभएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले बताए ।

“अहिलेसम्म नगर बस सञ्चालन गर्नका लागि कुनै पनि निणर्य भएको छैन, नीतिमा भए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन” चौधरीले भने । नगर कार्यपालिकाले निणर्य गरेमा मात्र काम अगाडि बढ्ने उनको भनाइ छ ।

स्थानीय तहमा जनप्रतिनिधिहरु नआउँदै नगर क्षेत्रमा नगरबस सञ्चालन गर्ने भनेर निणर्य समेत गरिएको थियो । त्यसका लागि तयारीसमेत थालिएको थियो तर जनप्रतिनिधिहरु आए पनि सो प्रक्रिया अगाडि बढ्न सकेकोे छैन् ।

नगरका ग्रामीण क्षेत्रमा बस सञ्चालन भएपछि नगरवासीहरुलाई सहज हुने गरी नगर बस सञ्चालन गर्ने तयारी गरिएको थियो । पहिलो चरणमा नगरपालिकाभित्र सहजरुपमा यातायात पुग्ने स्थानमा बस सञ्चालन गरिने गरी योजना बनाइएको थियो ।

नगरपालिकामा बस सञ्चालन गर्नका लागि नगर क्षेत्रमा अध्ययनसमेत गरिएको थियो । नगर बस सञ्चालन गर्नका लागि यातायात व्यवसायीहरु नगरपालिका मिलेर अध्ययनसमेत भएको थियो ।

नगरभित्र कति बस सञ्चालन गर्ने, रकम कति निर्धारण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल गरेर निर्धारण गरिने त्यस समयमा निणर्य गरिएको थियो ।

नगरपालिकाको संयोजनमा यातायात व्यवसायीहरुले नगर बस सञ्चालन गर्ने सहमति भएको थियो । यातायात व्यवसायी समितिहरुले समेत सहमति जनाएका थिए । नगरपालिकाले नगरबस सञ्चालन गर्नका लागि नगर बस सञ्चालनका लागि रुटसमेत तय गरेको थियो ।

सबै नगर बसहरु बसपार्कबाट सञ्चालन गर्ने सहमति भएको थियो । नगरपालिका र यातायात व्यवसायीहरु मिलेर तयार पारेको नगर बस सञ्चालन हुने क्षेत्रहरुमा मसिना नागेश्वर मन्दिरबाट घोराही गैरागाउँहुँदै कर्जाही धारापानी, बसपार्कबाट ट्राफिकहुँदै मसिना नागेश्वर मन्दिरबाट गिठेपानी स्कूल फुर्सेखालीहुँदै बसपार्कको रुट तयार पारेका थिए ।

बसपार्कबाट नवलपुर सिस्नेखोलासम्म, बसपार्कबाट तुरुन्तपुर हुँदै बाह्रकुने दह-बगाले-रानीजरुवा बसपार्क आउने निर्धारण गरिएको थियो ।

बसपार्क बाह्रकुने दहहुँदै वनगाउँ-बाहुनडाँडा-लेटार-गरुवागाउँ-सर्रा हाइवेबाट पुन घोराही बसपार्क, घोराही-हापुर जाने बाटोबाट कमलघारी-चखेरी हुँदै पुनः घोराही, घोराही बसपार्कबाट बडहरा-मंगलेरी-रमनाहुँदै पुनः बसपार्क, बसपार्कबाट तेरौटे-लेटार-बाहुनडाँडा अर्घुहुँदै पुनः बसपार्क, बसपार्कबाट हाइवेहुँदै विपीमार्ग-रामपुरसम्म नगर बस सञ्चालन हुने भनेर योजना बनाइएको थियो ।

त्यसैगरेर बसपार्कबाट प्युठानरोड-डबरी-चौघेरा-ओखरा-ढिकपुरसम्म पुग्ने र फर्कने, घोराहीबाट गैरागाउँ-कर्जाही-क्वाडी-पचुर्खा-धर्ना धारापानी, घोराही-तुलसीपुर चोकबाट सर्रा-सौडीयार-धर्नासम्म पुग्ने रुट थियो ।

बसपार्क तुलसीपुर चोकबाट प्रहरी बोर्डिङहुँदै खिरटिया धर्ना पुगेर घोराही फर्कने, घोराही तुलसीपुर चोकबाट कपासीहुँदै  सौंडीयार, राजपुरसम्म र घोराही फर्कने, बसपार्कबाट हाइवेहुँदै बेलभार सिस्नेखोला पुग्ने र फर्कने, बसपार्कबाट रतनपुर-सर्रा-गुर्जेखोलासम्म नगर बस सञ्चालन गर्ने गरी पहिलो चरणमा रुट निर्धारण गरिएको थियो ।

नगर बस सञ्चालनका लागी रुट निर्धारण गरे पनि त्यो भन्दा बढी कुनै प्रगति भएको छैन । “नीतिगत निणर्य भयो तर कार्यान्वयन भने भएको छैन, सस्तो लोकप्रियताको लागि नीति ल्याईएको जस्तो लाग्यो” उपमहानगरपालिकाका एक कर्मचारीले भने ।