काठमाडौँ। चरम आर्थिक संकटमा गुज्रिरहेको श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले राजीनामा दिएका छन्। एकदिन अघि अर्थमन्त्री नियुक्त गरिएका अली साबरीले राजीनामा दिएका हुन्।
आर्थिक संकटका कारण बढ्दो सरकारविरुद्ध प्रदर्शन पछि प्रधानमन्त्री महिन्दा राजापक्षेबाहेक सरकारका सबै मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि साबरीलाई संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मेवारी सहित अर्थमन्त्री बनाइएको थियो।
उनले राष्ट्रपति गोटाबाया राजापक्षेलाई पत्र लेख्दै धेरै सोच विचार र वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै आर्थिक संकटको समाधानका लागि राम्रो व्यवस्था आवश्यक रहेको उल्लेख गरेका छन्।
यसअघि अली साबरी न्याय मन्त्री थिए। ३ अप्रिलमा सरकारका अन्य मन्त्रीसँगै राजीनामा दिएका उनलाई नयाँ सरकारमा अर्थ मन्त्री बनाइएको थियो।