• मंसिर ११ २०८१, मंगलवार

माओवादी बाहेक अरुका ‘पीर’ हुँदैनन् र प्रकाश जी ?

चैत्र २२ २०७८, मंगलवार

चर्चित गायक तथा कलाकार प्रकाश सपुतको म्युजिक भिडियो ‘पीर’ बजारमा आएपछि ‘पीर’ शब्दले निकै चर्चा पायो । उक्त म्यूजिक भिडियोको विरोध र समर्थन दुवै भए ।

राजनीतिक परिवर्तनका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा युद्ध वा आन्दोलनमा संलग्न व्यक्तिहरूको जीवनमा राजनीतिक व्यवस्था परिवर्तनले जनताको अवस्थामा परिवर्तन भएन भन्न खोजिए पनि प्रकाश सपुतले दृश्य र प्रसंगको प्रस्तुतिमा अपरिपक्वता देखाए ।

चुनावको मुखमा कुनै एक पार्टीको मात्र विषयवस्तु र पात्र उठाएर विषयवस्तुको चित्रण गरे । जसले गर्दा सो गीत बहुदलीय व्यवस्थामा माओवादी पार्टीको आलोचना गर्न मात्र ल्याइएको अर्थ लाग्यो ।

के पीर माओवादी जनयुद्धमा लागेका व्यक्तिहरुको मात्र छ र ? अन्य पार्टीहरूमा लागेर आन्दोलनमा संलग्न भएका व्यक्तिका पीर छैनन् र ?

नेपाली कांग्रेस र नेकपा एमाले लगायतका पार्टीहरूले २००७ सालदेखि हालसम्म गरेका आन्दोलनमा सहभागी भएकाहरुको पनि पीर समेटेर म्युजिक भिडियो बनाएको भए सबै जनताको पीर समेटिन्थ्यो र सबै पार्टीहरूका कमिकमजोरी उजागर भएको अर्थ लाग्थ्यो ।

जनयुद्धबाट आएकी कुनै एक नारीलाई यौन व्यवसायमा संलग्न भएको नदेखाएर अन्यहरुको दयनीय अवस्थापनि देखाउन सकिन्थ्यो ।

त्यसकारण कुनै एक पार्टीलाई मात्र प्रहार गर्नु र महिलालाई यौन व्यवसायमा संलग्न भएको देखाउनु प्रकाश सपुतको अपरिपक्वता हो ।

हो, निश्चित रूपमा जनताका पीरहरु धेरै नै छन् । जनता सामाजिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक आदि कारणले र कुनै त व्यक्तिद्वारा पनि हानी नोक्सानी तथा दुःख कष्ट भोग्न बाध्य बनाइएका छन् ।

सामाजिक, आर्थिक, साँस्कृतिक लैंगिक, जातीय, वर्गीय, क्षेत्रीय, न्यायिक आदि विभेदका कारणले जनताको पीर मर्का बढेका छन् । जीवनका समस्या हटेर जीवनको अवस्थामा सकारात्मक परिवर्तन आउने आशामा लागेको र आश गरेका जनताका पीर प्रशस्त छन् ।

जनताको अवस्थामा सकारात्मक परिवर्तन नभए पछि राजनीतिप्रति उनीरुमा वितृष्णा जागेको छ । टाठाबाँठा मान्छे, बिचौलिया रपुँजीपतिको जीवनमा मात्रै परिवर्तन भएको देखिन्छ । तर आमनागरिकको अवस्था अप्ठ्यारो परिस्थितिमा छ, जसले जनतालाई चिन्ता थपेको छ ।

जनताले आफ्नो जीवनमा सकारात्मक परिवर्तन आउने आशमा २००७ सालदेखि विभिन्न राजनैतिक आन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, जनजाति आन्दोलनहरुमा सहभागीता जनाएका थिए ।

राजनैतिक व्यवस्था परिवर्तन त भए तर जनताको अवस्था परिवर्तन भएन । प्रजातन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, आदि उपलब्धि त भए तर महशुस हुने गरी आम जनताले जनजीविकाका अप्ठ्याराहरू समाधान हुन सकेका छैनन् ।

तिन तहका सरकार भएपछि जनताले आफ्नो पीर मर्का हटेर जाने आशा गरेका थिए तर नेपाली काङ्ग्रेसको विपीको समाजवाद र नेपाली कम्युनिष्ट पार्टीहरुका समाजवादका नाराले जनताका पीर मर्का घटाउन सकेनन् । चुनाव र विभिन्न कार्यक्रममा सबै पार्टीहरूका नेताहरुले समाजवादका कुरा गर्छन् तर काम पुँजीवादका र दलालका गर्छन् ।

अब्राहम मास्लोको आवश्यकताको सिद्धान्तमा झैं आमजनतालाई आधारभूत आवश्यकताको पीर छ । गास, बास, कपासको व्यवस्था गर्न नसक्दा परिवारमा जनताको पीर छ । आम जनतालाई आफू, आफ्नो परिवार धन-सम्पतिको सुरक्षाको पीर छ ।

सबै सरकारले जनताको जीउधनको सुरक्षा, रोजगारी, स्वास्थ्य, परिवार आदिको सुरक्षाको प्रत्याभूति दिन नसक्दा आम जनता पीरको आहालमा बाँचेका आधारभूत आवश्यकता पूरा गर्न सक्ने अहिलेसम्मका सबै सरकार र पार्टीहरुबाट जनताले आत्मसम्मानको सुनिश्चितताको आश गर्न सकेका छैनन् ।

जनताका पीर हटाउन आधारभूत आवश्यक्ताको व्यवस्था नगरेर भ्यूटावर, भ्यू प्वाइन्ट र अव्यवहारिक बाटो खन्ने, स्वागतद्वार बनाउने, मठमन्दिर बनाउने जस्ता क्षेत्रमा सरकारको बजेट खर्च गरेको छ । आम जनताका गास, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगारीका लागि भौंतारिरहेका जनताहरू पहिलो प्राथमिकतामा ती नेता र मन्त्रीहरूले राख्दैनन ।

आम जनतालाई आफ्नो परिवारलाई खानाको पीर छ । परिवारलाई बास बसाल्ने ठाउँको पीर छ । आफ्ना छोराछोरीको शिक्षा दिलाउने जनताको पीर छ । बिरामी हुँदा परिवारको उपचार गर्ने स्वास्थ्य सुविधाको पीर छ ।

खानाको लागि आमनागरिकलाई रोजगार तथा काम नपाउने पीर छ । तर नेता, मन्त्रीहरू र राज्यका विभिन्न पदाधिकारीहरुलाई कमिसन नपाउने पीर छ ।

आम सर्वसाधारणलाई कसरी बाँच्ने पीर छ भने धनी, पुँजीपति र नेतालाई कसरी कमिसन खाई सम्पत्ति थुपार्ने र कसरी आमजनतालाई ठगी धनसम्पत्ति कमाउने पीर छ ।

धेरै राजनीतिक व्यवस्था परिवर्तन भएपनि, जुन नेता, पार्टीहरू सरकारमा आएपनि आफ्नो अवस्थामा सकारात्मक परिवर्तन नभएकोमा आमजनता पीरको आहालमा बस्न बाध्य छन् ।

राजनीतिक व्यवस्था, नेता र चुनावप्रति जनताको वितृष्णा छ । जनता पीरैपीरमा बसेको छ । अझै झिनो आशामा जनता आफ्नो जीवन चलाइरहेका छन् ।