• मंसिर १२ २०८१, बुधबार

राष्ट्रपति भण्डारीद्वारा काष्ठमण्डपको लोकार्पण

चैत्र २१ २०७८, सोमबार

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पुरातात्त्विक महत्त्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको लोकार्पण गरेकी छन् ।

सोमबार काठमाडौंमा लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकालाई विश्वमै प्रकृति र संस्कृतिको सङ्गम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास निर्माणको कामलाई अघि बढाउन सम्बन्धित पक्षलाई विशेष महत्त्व दिन आग्रह गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुने गरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन जनप्रतिनिधिहरूले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताएकी छन् ।

काठमाडौं उपत्यकाको हरियाली प्रवर्द्धन गर्ने, पानीका मूल बचाउने र जैविक विविधताहरूको रक्षा गर्ने कार्यमा पनि जोड दिनुपर्ने बताउदै राष्ट्रपति भण्डारीले आफ्नै स्रोत, साधन र सीपको परिचालन गरी काष्ठमण्डप पुनर्निर्माणको काम गर्नु राष्ट्रकै लागि खुसीको विषय भएको बताइन् ।