• मंसिर १४ २०८१, शुक्रबार

जलाशययुक्त आयोजनामा लगानी गर्न मन्त्री भुसालको आग्रह

चैत्र २१ २०७८, सोमबार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई जलाशययुक्त आयोजनामा लगानी गर्न आग्रह गरेकी छिन् ।

हिमालय हाइड्रो एक्स्पो २०२२ को समारोह समापन समारोहमा बोल्दै आयोजित कार्यक्रममा उनले निजी क्षेत्र नदी प्रवाह (आरओआर) मा आधारित जलविद्युतको उत्पादनभन्दा पनि ठूला जलाशययुक्त आयोजना निर्माणमा जुट्नुपर्ने बताइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबाट भारतमा नेपालका बिजुली बिक्री गर्नका लागि सम्झौता भएको जानकारी दिँदै उनले बङ्गलादेश, भुटान, भारत र नेपाल (बिबिआइएन) सम्मिलित उपक्षेत्रीय संयन्त्रमार्फत बङ्गलादेशमा पनि विद्युत् व्यापारको ढोका खुल्ने विश्वास दिलाइन ।

नेपाल विद्युत् प्राधिकरणले पछिल्ला तीन वर्षदेखि नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता गर्न रोकेको छ । सुख्खायाममा हुने विद्युतको व्यवस्थापनलाई सहज बनाउन सरकारले पनि दूधकोशी, बूढीगण्डकी, नलगाढ र पश्चिम सेतीजस्ता ठूला जलाशाययुक्त आयोजनाको निर्माणलाई प्राथमिकतामा दिएको बताइन् ।