काठमाडौँ। जर्मनको समाजसेवी संस्था ‘नेपाल हिल्फे कुलाम्बक’का नव निर्वाचित अध्यक्षलाई राजधानीमा एक कार्यक्रमका बीच स्वागत गरिएको छ। कुलम्बाकका नवनिर्वाचित अध्यक्ष ८३ वर्षीय डाक्टर हान्स हंगरलाई तिलिङ्गाटार माध्यमिक विद्यालयमा कार्यक्रम गरेर स्वागत गरिएको हो। तिलिङ्गाटार माध्यमिक विद्यालय लगायत नेपालका विभिन्न विद्यालय तथा संघ संस्थाहरुलाई विभिन्न सर सहयोग गर्दै आएको जर्मनको सो संस्थामा डाक्टर हंगर हालै अध्यक्ष निर्वाचित भएका थिए।
जर्मन तथा नेपालमा जनस्तरबाट सहयोग आदान प्रदान गर्न भनेर करिव २२ वर्ष अघि स्थापना भएको सो संस्थाले नेपालमा धेरै सहयोग गर्दै आएको छ। नेपाललाई नै जर्मनबाट केहि सहयोग गरिरहेको सो जर्मनी संस्था नेपाल हिल्फे कुलम्बाकमा नयाँ अध्यक्ष निर्वाचित हुनसाथ नेपाल भ्रमण गर्ने प्रथालाई कायम राख्दै डाक्टर हंगरले आफू अहिले नेपाल आएको बताए।
हंगरलाई स्वागत गर्न आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै टोखा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष तथा तिलिङ्गाटार माध्यमिक विद्यालय,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरोत्तम राना मगरले सो संस्थाले तिलिङ्गाटार माध्यमिक विद्यालयलाई २२ वर्षदेखि गरेको साथ र सहयोग कहिल्यै नबिर्सने बताए।
स्वागत कार्यक्रममा बोल्दै डाक्टर हान्स हंगरले आफ्नो संस्थाको सहयोग ,नेपाल सरकारको लगानीका साथै विद्यालयको व्यवस्थापन र प्रशासनको तत्परताले आज सो विद्यालयले गरेको प्रगति देख्दा आफूलाई खुसी लागेको बताए। २२ वर्ष पहिले सो विद्यालयको सम्पर्कमा आफूहरुको संस्था आउदा यो विद्यालय यो स्तरमा पुग्ला भनेर त्यतिवेला कुनै कल्पना नै नगरिएको उनले बताए। उनले भने, ‘तपाईहरुको विद्यालयले जति प्रगति गरेको छ, यसमा बधाई छ तर यतिमै सन्तुष्ट हुनु भने हुदैन।’
तिलिङ्गाटार माध्यमिक विद्यालय आफू र आफूहरुको संस्थाको हृदयमा बसेको भन्दै चुहिने छानो देखिएको विद्यालयले अहिले स्मार्ट बोर्ड समेत प्रयोग गर्ने भएको भनेर सो विद्यालयको प्रगति भएकोमा उनले प्रशंसा गरे। विद्यार्थीहरुले यस्तो सुविधा सम्पन्न विद्यालयमा पढ्न पाउनुमा गर्व गर्नुपर्ने धारणा व्यक्त गर्दै अध्यक्ष हान्स हंगरले छात्राले झन् धेरै पढ्नु पर्ने विचार व्यक्त गरे। अहिले जर्मनी अलिकति अगाडी गएको जस्तो जुन देखिएको छ, त्यो महिला शिक्षाबाट मात्रै सम्भव भएको उनको भनाई थियो।
स्वागत कार्यक्रममा अध्यक्ष डाक्टर हंगरलाई विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले पुष्पगुच्छा दिएर,माला लगाइदिएर स्वागत गरेका थिए भने कार्यक्रम स्थलमा उनलाई नेपालमा र सो विद्यालयमा सहयोग गरेको कदर स्वरुप तथा संस्थाको अध्यक्ष निर्वाचित भएको बधाई स्वरुप दोसल्ला ओढाएर र एक आकर्षक उपहार प्रदान गरेर कदर गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधान अध्यापक सरोज कुमार पाण्डेले डाक्टर हंगरको संस्थाले सो विद्यालयलाई विगत देखि अहिलेसम्म गर्दै आएको सहयोग तथा सो सहयोगबाट विद्यालयले गरेको प्रगतिबारे प्रकाश पारेका थिए। कार्यक्रममा शिक्षकअभिभावक संघका अध्यक्ष भीम भारती,टोखा नगरपालिका वडा नम्बर ७ का सदस्य सानुराजा बस्नेत,नेपाल हिल्फे कुलम्बाकका सल्लाहकार श्याम न्यौपाने, संस्थाका सदस्य धन बजगाईं,विद्यालयका शिक्षक,अभिभावक,विद्यार्थी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम नरोत्तम राना मगरको अध्यक्षतामा भएको थियो भने विद्यालयका शिक्षक श्रीकृष्ण रिजालले संचालन गरेका थिए।
कार्यक्रम पश्चात अध्यक्ष डाक्टर हंगर लगायत नेपाल हिल्फे कुलम्बाकका सदस्यहरुले सो विद्यालयमा आफूहरुको संस्थाले छात्रवृत्ती प्रदान गरेर १ देखि १० सम्म पढेका र ११,१२ तथा प्राविधिक शिक्षा पढिरहेका दुइदर्जन विद्यार्थीहरु र उनिहरुका अभिभावकहरुसंग भेटघाट तथा अन्तरक्रिया गरेका थिए।