• मंसिर ११ २०८१, मंगलवार

योगीको ‘बा’ गीतमा व्यक्त जन्म दिने बा’को पीडा र महिमा

चैत्र २० २०७८, आईतवार

काठमाडौँ । मानव संसार र सृष्टि निर्माण हुन र रहिरहन हरेक जीवजन्तु तथा बोट बिरुवाहरु समेतमा पुरुष तत्व र महिला तत्व बराबर रुपमा आवश्यक र जिम्मेवार रहेको हुन्छ । अर्थात् हरेक सजीव चीजहरुमा नयाँ सन्तान र पुस्ता आउन बा र आमाको बराबर भूमिका रहने गर्छ । बा र आमा नभए नयाँ मानिसको जन्म हुंदैन । त्यस्तै कुनैपनि प्राणी र बोट बिरुवा हुन उनीहरुको बा र आमा नितान्त रुपमा आवश्यक रहन्छ । बा आमा बिनाको सजीव चिज उत्पत्ती नै हुन सक्दैन ।

बा र आमा अर्थात् हरेका प्राणीका सृष्टिकर्ता, वास्तवमा भगवान भनेपनि तिनै ईश्वर, अल्लाह, मसिह जे भनेपनि तिनै बा र आमा नै हुन् । र हुन् प्राणी जगतका निर्माता । बा र आमा नभएको भए हामी थिएनौं । म हुने थिएन, तपाईं र उनीहरु पनि हुने थिएनन् । त्यसकारण बा र आमा बिनाको कसैको जीवन हुन सक्दैन ।

संसारमा आमाको महिमा, कहानी र कारुणिकता धेरै लेखिएका छन् । आमालाई महान बनाएर कयौं काव्यहरु पनि सिर्जना भएका छन् । कथा, चलचित्र, वृत्तचित्र उपन्यास तथा विभिन्न कहानीहरुमा आमालाई महान बनाएर आजसम्म धेरै कुराहरु लेखिंदै आइएको छ । त्यहिँनेर सृष्टिकर्ता मध्ये एक आमाको महिमा गाइरहँदा भने संसारले सृष्टिमा बाबुको भूमिकालाई लिएर त्यति धेरै सिर्जनाहरु गरेको पाइंदैन ।

तर आक्कलझुक्कल भने बाबुलाई बयान गरेर आजभोलि केहि सिर्जनाहरु भने आउन लागेका छन् । यस्तै सिलसिलामा बा अर्थात् बाबुको महिमा गाउँदै सर्वाधिक चर्चित तथा लोकप्रिय गायक शिशिर योगीले बा गीतको एक भिडियो ल्याएका छन् । चर्चित जनप्रिय कवि अर्जुन पराजुलीले सिर्जना गरेका बा गीतका शब्दहरुमा संगीत सिर्जना गर्दै योगीले सो गीत गाएका पनि छन् । बा गीतमा वरिष्ठ संगीतकार बीबी अनुरागीको संगीत संयोजन रहेको छ । गीतमा बाँसुरी गोपालदेव घतानी, गिटार संजीव बराइली, मादल भुवन गन्धर्व र सारंगी धर्म गन्धर्वले बजाएका छन् । सो गीतको अडियो भिडियो गायक योगीले नै निर्माण गरेका छन् ।

संसारमा आमा आमा भन्दै गर्दा बालाई सबैले बिर्सिएका हुन्छन् । आमाको कथा, व्यथा, कहानी र महिमा लेख्दै गर्दा मानिसहरुले बाको कथा लेख्दैनन् । मानिसहरुको यस्तो प्रवृत्तीलाई गीतमा उल्लेख गरिएको छ । गीतको स्थायी भन्छ,

‘आमा आमा भन्छन् सबै बा तिम्लाई देख्दैनन् कोही
आमाको त सबले लेख्छन् बाको कथा लेख्दैनन् कोही’

बाले आफ्ना छोराछोरीलाई सानो हुँदा ढाडमा बोकेर वरपर गरेका हुन्छन् । खोलानाला तराएका हुन्छन् । बाले छोराछोरीलाई आफ्नो काँधमा बोकेर आकाश छुन सिकाएका हुन्छन् । बाले छोराछोरीलाई पानी पर्दा आफू छानो बनेर ओत लगाएका हुन्छन् । बाले छोराछोरीलाई घाममा पर्दा छायाँमा बसाएका हुन्छन् । बा नै छोराछोरीको लागि अन्नको दाना बनेका हुन्छन् । बाको यस्तो भूमिकालाई गायक योगीले यसरी गाएका छन्,

‘बा तिम्ले ढाडमा बोक्यौं खोलानाला तार्यौं मलाई,
बा तिम्ले काँधमा बोक्यौं आकाश छुने पार्यौं मलाई’
घाम लाग्दा छायाँ बन्यौं पानी पर्दा छानो बन्यौं,
भोक लाग्दा खाना माग्दा बा अन्नको दाना बन्यौं’

आफ्नो छोराछोरीको लागि बाले धेरै नङग्रा खियाउनु परेको हुन्छ । कयौं बाहरु त छोरा छोरीलाई खुवाउन आफू भोकैसम्म बसेका हुन्छन् । आफूले जन्माएका छोराछोरीको भविष्य राम्रो होला कि भनेर बा आफ्नो हड्डी घोट्न मुगलान पसेका समेत हुन्छन् । छोराछोरीलाई बाजी जिताउन कयौं पटक बाहरुले आफूले बाजी हरेका हुन्छन् । छोराछोरीको लागि भनेर बाहरुले जग्गा जमिन बढाएका हुन्छन् । यस्तो कुरालाई गीतमा भनिएको छ,

‘मेरै लागि नङ्ग्रा खियायौ मेरै लागि भोकै बस्यौं,
मेरै लागि हड्डी घोट्न बा तिमी मुगलान पस्यौं
हत्केलाले बार्यौं तिम्ले बारी ठूलो पार्यौं तिम्ले
मलाई बाजी जिताउन हजार बाजी हार्यौं तिम्ले’

वास्तवमा मानव जगतमा हाम्रो नेपाली संस्कार, रिति र परम्परा अनुसार छोराछोरी जन्मिएपछि बाले जति काम गर्छन् त्यो सबै छोराछोरीको लागि नै हुने गर्छ । बाले आफ्ना छोराछोरीकै लागि हाँस्न चाहन्छ र छोराछोरीकै लागि साँच्न समेत चाहन्छ । छोराछोरी जन्मिएपछि मानिस जति बाँच्छ ऊ आफ्ना लागि नभएर छोराछोरीकै लागि बाँच्छ । छोराछोरीलाई छातीमा टाँस्दै, छोराछोरीको हाँसो किन्दा किन्दै बाले आफैलाई मासेको पत्तै पाउँदैन । बाको यस्तो भूमिका र दायित्वलाई गीतका शब्द यसरी बोलेका छन्,

‘आफ्ना लागि हाँसेनौ बा आफ्ना लागि साँचेनौ बा
बाँच्नलाई त बाँच्यौ तर आफ्ना लागि बाँचेनौ बा
आफ्नो छाती उघारेर मेरो तस्वीर टाँस्यौ तिम्ले
मलाई हाँसो किनिदिने आफैलाई मास्यौ तिम्ले ’

बा गीतको भिडियोमा गायक योगीले नै मुख्य रुपमा अभिनय गरेका छन् । योगीको साथमा भिडियोमा सबल पन्त, मनोहर सुनाम, धर्म गन्धर्व, गोपालदेव घतानी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोलाई वीरेन्द्र भाट ‘बिपिन’ले निर्देशन सम्पादन तथा क्यामरामा दृश्य कैद गरेका छन् । गीतको भिडियो शिशिर योगीको युटुव च्यानलमा गएर हेर्न सकिन्छ ।

 हेरौं भिडियो ⇓