• असार २५ २०८१, सोमबार

अचम्मको विकास ! बस्तीमा छैन, खेतमा सडक ?!

चैत्र २० २०७८, आईतवार

घोराही २० चैत ।
‘बस्तीमा विकास नगर्ने तर खेतमा किन विकास गरिन्छ’ घोराही-अम्बापुर जोड्ने पुलबाट फोन गरेको बताउने एक व्यक्तिले भन्नुभयो, ‘यहाँ आएर हेरिदिनुस्’ उहाँले यो सरकारकै लगानी हुनुपर्छ । वषौँदेखि मानव बस्ती भएका क्षेत्रमा विकास छैन । खेतको मध्यभागबाट नाला सहितको बाटो बन्दैछ ।

यसरी फोन गर्ने त्यसै क्षेत्रका बासिन्दा भएको बताउनु भयो । आफ्नो नाम भनेपछि कसैको नजरमा पर्ने डर लागेको उहाँको भनाई थियो । उहाँका अनुसार बस्ती नै नभएको ठाउँमा पक्की नाला सहितको सडक बन्दैछ । खोलाको किनारामा प्रशस्त धान फल्ने खेतमा बालुवा हालेर घर ठड्याउने योजना छ । दिउँसो भन्दा राति राति काम गरिन्छ । खेत मास्ने जस्तो देखिन्छ ।

घोराहीदेखि अम्बिकेश्वरी मन्दिर सडक खण्डबाट उक्त बाटो पश्चिमतिर छुटिन्छ । सडकबाट पश्चिम तर्फ कटुवा खोलामा मिसिने निर्माणाधिन बाटोको दुवैतर्फ खेत छ । फराकिलो सडकका लागि पक्की नाला बनिरहेको छ । खोलाको नजिकको सिमसार क्षेत्र मानिन्छ । लहलह धान फल्ने खेतियोग्य जमिन हो । अहिले त्यसैमा पक्कि नाला निर्माण कार्य भइ रहेको छ । दिउँसो तिर मजदुरहरुले ढलान गरेको नालामा पानी सिंचाई गरिरहेका थिए । सर्वत्र हरियाली देखिने ठाउँमा पक्की सडक बन्दैछ । देख्नेहरुले हरियाली मासिएकोमा असजिलो मानेका छन् ।

खानेपानी अभाव, ह्यूमपाईप नपाएको, सडक कालोपत्रे नगरेको, विद्युतका पोल नगाडेको लगायत अनेक समस्याले पुराना मानवीय बस्तीहरु पीडित छन् तर, कतै व्यक्तिले त कतै राज्यले खेतमा प्लटिङ गरेर सडक कालोत्रे गरेका छन् । विद्युतका पोल गाडेर तार तानेका छन् । जग्गा प्लाटिङ गरेर घर ठड्याउँछन् । यसैमा उक्त क्षेत्र परेको छ । यहाँ भने योजनाबद्ध ढंगले सरकारले काम अघि बढाएको छ । यसलाई देख्नेहरुले भने उचित काम मानेका छैनन् ।

घोराही नगर विकास समितिको अम्बापुर ल्यान्डपुलिङ अन्तर्गत सडक बन्न लागेको घोराही-१८ का अध्यक्ष एवम् नगर समितिका सदस्य भरतमणि अर्यालले बताउनु भयो । उहाँका अनुसार ६० र ४० प्रतिशत मापदण्ड अनुरुप सर्वसाधारणको ९० विगाहा जमिन प्लटिङ गरिएको थियो । त्यसै अन्तर्गतको क्षेत्रमा अहिले काम भईरहेको छ । प्लटिङको काम केहि वर्ष अघि शुरु भएको हो ।

घोराही-१४ ले चैत १२ गते दोस्रो चौमासिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । आफ्नो वडाका समस्या र उपलब्धिको चर्चा हुने अपेक्षा गरेर आयोजना गरेको कार्यक्रम नगरमा केन्द्रित भएको थियो । आफ्नो कार्यकालको अन्तिम सार्वजनिक सुनुवाई गरेका अध्यक्ष शक्तिराम डाँगीले न सुझाव पाए न त नागरिकले वडामा कार्यरत कर्मचारी सम्म कसैको गुनासो गरे । त्यहाँ बोल्ने अधिकांश वक्ताहरुले जग्गा प्लटिङ गरेको गुनासो गरे ।

त्यस वडाका वासिन्दा सन्तबहादुर थापाले प्लटिङ नभएको ठाउँ नै भेटिन छोडेको भन्दै आक्रोस पोखे । एक दुई कट्ठा खेत हुनेले पनि प्लटिङ गरेका छन् । उहाँले त्यसमा जनप्रतिनिधि, कर्मचारीको कमिसनको खेल रहेको आरोप लगाउनु भयो । उहाँले बिचौलीया तस्करको पालेको बताउनुभयो । ‘किन मासियो खेतबारी ?’ उहाँले प्रश्न गर्नुभयो, ‘जमिन किन टुक्रियो ?’ उहाँले सिमखेत, गनार खेत पनि बालुवा भरेर सरिया र सिमेन्टका संरचना बनेको बताउनु भयो । जति जनाले बोल्थे सबैजसोले खेत सकियो भने धान कहाँ फलाउने भनि प्रश्न गर्थे ।

घोराही उपमहानगरपालिकाका प्रवक्ता समेत रहनुभएका अर्यालका अनुसार सिमसार क्षेत्र बचाउन उपमहानगरपालिका लागेको छ । कतै पनि मासिन दिएको छैन । त्यसै क्षेत्रमा पनि तिन चारवटा सिमसार क्षेत्र छन् । सबै ठाउँमा खेति हुन्छ । सडक निर्माणाधिन क्षेत्रपनि सिमसारै हो । जग्गा विकास आयोजनामा परेको हुनाले स्विकृत दिएको हो । अन्यथा प्लटिङ गर्न पाउने थिएन । उहाँले हापुर, सौडियार लगायत उपमहानगर भरिका धेरै क्षेत्रका सिमसार बचाएको बताउनु भयो । तर, खेतमा बालुवा हाल्ने, कालोपत्रे गर्ने काम भने गाउँगाउँमा भेटन सकिन्छ ।

कित्ता काटको सिफारिस वडाबाटै आउने कानुन बनाएको नगरप्रमुख नरुलाल चौधरी बताउनु हुन्छ । उहाँका अनुसार आफू निर्वाचित भए पश्चात प्लटिङ रोकिएको छ । प्लटिङ गरिएका क्षेत्रमा पनि माटो भरेर खेति गर्न थालिएको छ । सबै खेतिहरु बाँझो हुने हुन कि भन्ने जस्तो स्थितिको अन्त भएको छ । स्थानीय सरकार खेतियोग्य जमिन बचाउँन अथक पर्यत्न गरेको छ ।