• मंसिर ८ २०८१, शनिबार

गठबन्धनलाई एमालेको डर, एमालेलाई बहुमतको साख जोगाउन सकस

चैत्र २० २०७८, आईतवार

सत्ता गठबन्धनमा चार दलले आगामी निर्वाचनमार्फत प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई हराउन पनि चुनावी तालमेल गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दलबीच ६ वटा महानगरपालिका ११ वटा उपमहानगरपालिकामा भागवण्डाको विषय पेचिलो बन्दै गएको छ ।

ठूलो दल भएकाले कांग्रेसले अधिकांश महानगरपालिका र नगरपालिकामा दाबी गरेको छ भने अन्य दलहरूले पनि आ–आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीभित्रबाट गठबन्धन नगर्न दबाब रहे पनि अन्ततः पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाटै गठबन्धनमार्फत नै चुनावमा जाने निर्णय भइसकेको छ ।

पार्टीभित्र आन्तरिक विवादबीच सभापति देउवाले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न निर्देशन दिइसकेका छन् ।

स्थानीय तहको निर्वाचनमा माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) कांग्रेसकै आडमा निर्वाचनमा होमिने भएका छन् ।

आगामी स्थानीय तहको निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमाले भने बिना तालमेल नै चुनाव लड्ने भएको छ ।

एमाले विभाजित भएको र सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने अवस्थामा स्थानीय तहमा २०७४ को साख जोगाउन निकै मुस्किल हुने भएको छ ।  यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।