• मंसिर २० २०८१, बिहीबार

चिन्ता !

चैत्र १९ २०७८, शनिबार

हँसमुख विद्यालय गएका बालबालिका
बीच बाटोमै अपहरण परेपनि
चुपचाप सहनु परेको छ
उनीहरूलाई मन नपरेको गीत गाएपछि
त्यसको बैचारिक चिरफार गर्ने चेत
गुमाएको छ समाजले
गायकहरुको घाँटीमा
कोही तेर्साइरहेछ तरबार
नुतन बिचारहरुमाथि
निर्मम बन्ध्याकरण गर्ने रित दोहोरिएको छ
कवितामा उनीहरूको बिचार नअटाएपछि
बुद्ध र गान्धीको फोटो बोक्नेहरु
पेस्तोल देखाउन थालेका छन् कविहरुलाई
आन्दोलनमा अश्रुग्यास त खाएकै हो हाम्ले
गोलीहरुसँग एक इन्च पनि पछि नहटेकै हो
उनीहरूले धम्कीको शैली बदलेका छन्
बिचारको हत्या गर्ने दाउ चल्दैछ
कुनै धार्मिक पण्डा
आफूलाई मन परेको तर्क दिनेमाथि
ताकिरहेछन् बन्चरो
आफ्नु धार्मिक सत्तालाई अमर घोषणा गरेर
उ आफू भित्रै मरिरहेछ
नित्सेकालमै मरेको ईश्वरले प्रेतको रुप धारण गरेको छ
प्रेतहरु सत्तामा छन्
प्रेतहरुको सत्तामा
मान्छेहरु मरिरहेका छन्
मुर्कट्टाहरुको समाज बनिरहेकै छ
एउटा ज्युँदो मान्छेले विवेक गुमायो भने
कस्तो डरलाग्दो समाज बन्छ
भयग्रस्त यो युगले चिन्ता गरोस् !