चितवन जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ। विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो। पोल्ट्रीको राजधानी भनिने चितवनमा धेरैतिर बर्डफ्लू देखिएपछि नियन्त्रणको प्रयास गरिएको छ।
भेटेनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लाको खैरहनी नगरपालिका वडा नं २ स्थित किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रालि, भरतपुर महानगरपालिका वडा नं ८ को मदनकृष्ण मानन्धरको कमर्सियल लेयर्स फार्म र भरतपुर महानगरपालिका वडा नं २३ मा अवस्थित खेमलाल भुषाल र चन्द्र भुषालको कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो।
यसैगरी भरतपुर महानगरपालिका वडा नं १६ स्थित एजे पोल्ट्री फार्म, भरतपुर २३ का अविशेक रामदामको फार्म, खैरहनी नगरपालिका वडा नं १० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी नगरपालिका वडा नं ३ स्थित ध्रुव अधिकारीको कुखुरा फार्म र खैरहनी नगरपालिका वडा नं ६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लू देखिएको हो।
ती फार्ममध्ये कँडेल, मानन्धर र भुसालको फार्मलाई अनुगमन गरी त्यसको परिधि क्षेत्रभित्रका पक्षी नष्ट गर्ने निर्णय भएको कार्यालयका अधिकृत प्रभात न्यौपानेले जानकारी दिए। उनका अनुसार अन्य ६ वटा फार्ममा टोलीले अनुगमन गरेर परिधि तय गर्न बाँकी रहेको छ।
बर्डफ्लू नियन्त्रण समिति चितवनले निर्णय गरेपछि थप ती ठाउँहरूमा पक्षी नष्ट गरिने उनले जानकारी दिए। ती सबै ठाउँको नमूनाको नतिजा बिहीबार आएको हो। जनशक्ति अभावका कारण काममा ढिलाई भएको उनले बताए। यस अघि जिल्लामा पाँच ठाउँमा बर्डफ्लू देखिएको थियो।
जिल्लामा बर्डफ्लू बढेपछि पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारी सहितको विज्ञ टोली यहाँ आएको छ। बर्डफ्लू नियन्त्रण समितिको आज यहाँ सम्पन्न बैठकमा तिवारीले देशभरको बर्डफ्लूको अवस्थाबारे जानकारी दिँदै चितवन थप संवेदनशील बनेको बताए।
हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको उनले जानकारी दिए। मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्डफ्लू देखिएको हो। ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको उनको भनाइ छ।
नेपालमा विसं २०६५ मा पहिलो पटक बर्डफ्लू देखापरेको हो। त्यसैगरी २०७० सालमा यो रोग भयावह भएको थियो। तत्कालिन समयमा भक्तपुर जिल्लाका सबै पक्षी मारिएका थिए।
यस वर्ष माघ १४ गते पहिलो पटक मोरङमा रोग देखिएको हो। चितवनमा माघ २८ गते पहिलो पटक रोग पुष्टि भएको थियो।