• मंसिर ११ २०८१, मंगलवार

एक कप कालो चिया बेचेर ४,३३० रुपैयाँ कमाउने साइकल चिया पसले

चैत्र १८ २०७८, शुक्रबार

काठमाडौँ । साइकलमा पछाडीको पाङ्ग्रासँगै एकापट्टी खाना पकाउन प्रयोग हुने एलपी ग्याँसको सानो सिलिण्डर अनि अर्कोपट्टी सानो ग्याँस चुलो जडान गरेका, चुलोको माथि एउटा पानि तताउने ट्याङक राखेर तातो पानि आउने धारा समेत बनाएका । लखरलखर हिंड्दै पूर्वीदेखि मध्ये तराइका विभिन्न गाउँ तथा शहरहरुमा कागती चिया, कालो चिया तथा मसला चिया बेच्दै गरिरहेका एक अधबैंसे मानिस बारा जिल्लाको बिन्दवासीनी गाउँ पालिका प्रसौनी भाटा गाउँको प्रसौनी बजारमा भेटिए ।

दुईपाङ्ग्रे साइकलमा यसरी चिया बेच्दै हिंड्ने उनको साइकल चिया पसलको नाम भने ‘जय भोले शंकर साइकल चिया पसल’ राखेका रहेछन् । छिमेकी देश भारतको विहार राज्यमा पर्ने पूर्वी चम्पारण जिल्ला मुसहरवा गाउँ पञ्चायत, भेलाही बजारका स्थायी बासिन्दा रमेश पण्डित त्यस साइकल चिया पसलका मालिक हुन् । विगत १२ वर्षदेखि यस्तै गरेर साइकलमा चिया बेच्दै आएका पण्डितले नेपाल भारत सिमा वारपार गरेर चियाको व्यापार गर्दा विभिन्न अनुभव संगालेका रहेछन् ।
पाठकसामु आज प्रस्तुत गर्दैछौं, ३३ वर्षका पण्डितले नेपाल र भारतमा लखरलखर साइकलमा कुदेर चिया व्यापार गर्दा अनुभव गरेका तथा देखिएका र भेटिएका केहि रोचक तथ्यहरु :

आफ्नो साइकल चिया पसलको साथ पसले पण्डित
आफ्नो साइकल चिया पसलको साथ पसले पण्डित

पाँच हजारको साइकलमा २३ हजारको पसल :

पण्डितले चिया बेच्न प्रयोग गरेको साइकल केहि वर्ष पहिले नेपाली पाँच हजार बराबर रुपैयाँमा किनेका हुन् भने त्यही साइकलमा आफूले सोचेको जस्तो चिया पसल जडान गर्न भने उनले २३ हजार खर्च गरेको बताए । उनले भने, ‘पाँच हजारको साइकलमा चिया पसल सेट गर्न २३ हजार लाग्यो ।’ साइकलमा चिट्टीक्क परेको चिया पसल जडान गर्न एउटै देशमा सबै समान नपाइएको हुनाले कुनै समान नेपाल र कुनै समान भारतमा किनेर साइकलमा चिया पसल जडान गर्न सम्भव भएको उनको भनाई छ ।

भारतमा भन्दा चिया बेचेर नेपालामा बढी कमाई :

भारतका स्थायी बासिन्दा पण्डित भारत भन्दा नेपालमा घुमेर चिया बेच्न बढी रुचाउँदा रहेछन् । भारत विहारका विभिन्न गाउँ तथा शहरहरुमा डुलेर चिया बेच्दा उनले मासिक करिव १२ हजार भारतिय रुपैयाँ बचाउने गर्दा रहेछन भने नेपालमा नै त्यसरी चिया बेच्दा भने मासिक ६० हजारसम्म बचाउने गरेको उनले जानकारी दिए । ‘यै चिया बेचेर कमाई खाएको छु हुजुर’ भन्दै हिन्दी नेपाली लवजमा उनले भने, ‘साइकलमा चिया बेच्न त नेपालमा सजिलो हुजुर ।’ भारतमा दिनभरमा चिया बेचेर ५,६ सय रुपियाँ उनको बच्ने रहेछ भने त्यसै गरि दिनभरि चिया बेच्न सके नेपालमा भने २ हजारसम्म बेच्ने गरेको उनले बताए । आफ्नो चियालाई भने नेपाल भारत दुवै देशमा उत्तिकै मन पराइएको उनले बताए ।

एककप चियाको ४३३० रुपैयाँ :

भारत विहारको पूर्वी चम्पारण जिल्लाका भेलाही लगायत अधिकांश गाउँ शहरका साथै नेपालमा बारा, पर्सा, रौतहट लगायत चितवन जिल्लामा चिया बेच्दै पुगिसकेका पण्डित नेपालमा कागती तथा मसाला चिया सानो एक कपको १० रुपैयाँमा बेचिरहेका छन् । भारतमा त्यसैलाई १५ रुपैयाँमा उनले बेच्ने रहेछन भने चितवनका नारायणघाट, भरतपुर, पर्सा, टाँडी र मनहरी लगायतका स्थानहरुमा उनको चिया बढी बिक्रि हुने गर्दो रहेछ । दुई वर्ष पहिले चितवनको टाँडीचोकमा उनले बेच्ने एक कप चिया खाएर, चिया मिठो मानेर, खुसी भएर एक अपरिचित ग्राहकले उनलाई ४,३३० रुपैयाँ दिएको घटना कहिल्यै नबिर्सने गरि आफ्नो दिमागमा रहेको उनी बताउछन् ।

चिया बनाएर बेच्दै गरेका पण्डित
चिया बनाएर बेच्दै गरेका पण्डित

आफूले बनाएर बेच्ने चिया एकदम स्वादिलो तथा स्वास्थ्यको लागि लाभदायक भएको दावी गर्दै उनले भने,‘मेरो चिया मिठो नभएको भए ती ग्राहकले किन मलाई एक कप चियाको ४,३३० रुपैयाँ दिए त ?’ तर अफसोच त के रहेको छ भने एक कप चिया खाएर ४३३० रुपैयाँ दिने ती महान् ग्राहकको नाम समेत उनले सोधन सकेनन् । तर ती ग्राहकलाई फेरी भेटे आफूले चिन्ने उनले बताए ।

छोरीको आशामा चार छोरा जन्माएका चिया पसले :

नेपाल र भारतमा मात्रै होइन संसार भरि नै मानिसले आफ्नो पहिलो सन्तानको रुपमा छोरा नै जन्मियोस भन्ने चाहना राख्छ । छोराको आशामा धेरै छोरी जन्माएको जोडीहरु पनि हामीले देखेका छौं । यस्तो समस्या नेपाल भारत लागायत दक्षिण एशियाका देशहरुको पनि व्याप्त छ । नेपालमा त छोराको आशामा वा छोरा जन्माउने चाहनाले गर्दा आधा दर्जन बढी छोरी जन्माएको समेत कतै कतै देखिन्छ । कयौं देशहरुमा गर्भमै लिङ्ग पहिचान गरेर यदी छोरी हुने भएमा भ्रुण हत्या समेत गरिएका समाचारहरु पनि पढिन्छन् । हाम्रो देश र वरिपरीका देशहरुको यस्तो प्रवृत्ति हुँदाहुँदै पनि साइकल चिया पसले रमेश पण्डित भने यस्ता पात्र रहेका छन् जसले छोरी जन्माउन चाहन्छन् । छोरी जन्माउने चाहना र इच्छाले गर्दा आफ्ना चार छोरा जन्मिइसकेको उनले बताए ।

नेपाल भारत खुला सिमानाबाट यताका मानिस उता गएर र उताका मानिस यता आएर व्यापार व्यवसाय तथा रोजगार गर्न पाउने व्यवस्थाको प्रचुर फाइदा लिंदै आएका पण्डितलाई सिमानामा नेपाल तथा भारतका प्रहरीहरुले रोकटोक नगर्ने उनले बताए । ‘त्यै चिया खाएर यताउता गर्न दिनुहुन्छ’ उनले भने । मानिसले जीवन चलाउनका लागि आफै परिश्रम गर्नुपर्छ भन्ने उदाहरण बनेका छन् पण्डित ।