• मंसिर ११ २०८१, मंगलवार

शिवलिङ्गमा जाँड-रक्सी बढाउने नेवारी संस्कार

चैत्र १८ २०७८, शुक्रबार

शिवलिङ्गमा दुध-दही, मह र गंगानदीको पवित्र जलले अभिषेक गरिन्छ र गरिंदै आइएको छ । विश्वमा जहाँपनि शिवलिङ्ग छ, त्यहाँ त्यसरी नै अभिषेक गरिंदै आइरहेको पाइन्छ तर नेपालका नेवारहरुले भने लिङ्गलाई वर्षको एक पटक घोडेजात्राको अघिल्लो दिन पाहाँचःह अर्थात् पिशाच चतुर्दशीका दिन जाँड-रक्सीले अभिषेक गराउँछन् र शिवजीलाई जाँड-रक्सी चढाउँदा शिवलिङ्माथिबाटै चढाइदिने चलन रही आएको ।

नेवारहरूका विभिन्न चाडपर्वहरुमध्ये यसलाई पनि विशेष रुपका मनाउँदै आइएको छ । पाहाँ चःहेलाई साथिभाईहरुलाई भोज खुवाउने पर्वको रूपमा मानिन्छ । पाहाँको अर्थ पाहुना र चःहेको चतुर्दशी भन्ने बुझिन्छ । नेवारी संस्कृति र संस्कार अनुसार नेवारहरुले आफू मात्र खाएर पुग्दैन आफ्ना नाता कुटुम्ब इष्टमित्र सबैलाई भ्याउञ्जेल भोज खुवाउन सकेमा पुण्य प्राप्त हुन्छ । चेलिबेटी, आफन्त र पाहनापाछाहरुलाई तृप्त गराएमा वरत्र र परत्र सुध्रिन्छ भन्ने मानसिकतामा हुर्केका नेवारहरुले सकेसम्म सबैलाई खुवाउनमा जोड दिने गर्छन् ।

यही पाहाँ चःहेका दिन काठमाडौं उपत्यकाका विभिन्न टोलमा रहेका लुकुमाघस् अर्थात् लुकेर बसेका महादेवलाई पूजा गरिन्छ । फोहोरको डुंगुरमा लुकेर बसेका महादेवलाई पूजा गर्ने नेवारी परम्परा निकै महत्वपूणर् मानिन्छ ।

यसदिन विभिन्न स्थानमा रहेका फोहोर सफा गरेर ढुंगा र ईटा निकालेपछि मुनी पुरिएर रहेका शिवलिङ्गलाई सफासुग्घर गरेर पूजा गर्ने गरिन्छ । यो दिन पिशाच चतुर्दशी पनि पर्ने भएकाले पिशाचको रुपमा लुकेर बसेका महादेवलाई पूजा गरिंदै आएको हो पनि भनिन्छ ।

यहाँ महादेवलाई पूजा गर्दा समयुबजी न्यूरा, लसुन भट्मास माधा, मासु छ्वयलाका साथै जाँड-रक्सी पनि चढाउने गरिन्छ । साथै लुकुमाघलाई सुनको फूल भनेर तोरीको फूल अनि चाँदीको फूल भनेर मुलाको फूल चढाउने गरिन्छ ।

यसका साथै विशेष प्रकारको दियो बालेर (माकःचा गाजल थाप्ने माटाको भाँडो) मा गाजल थापिन्छ । यो गाजल लगाएमा वर्षभरी आँखा दुख्दैन भनिन्छ ।

देवादिदेव महादेव पनि यसरी फोहोरको डंगुरमा किन लुकेर बस्नु परेको होला ? भन्ने सन्दर्भमा किंवदन्ती रहेको छ । एकपटक महादेवले कुरैकुरामा शनिसँग सोधेछन् । शनिको साढेसाती दशा लागेपछि धेरै कष्ट र पीडा हुन्छ भनिन्छ, कस्तो पीडा हुन्छ होला ? तब शनिले हजुरलाई पनि लाग्छ अनि थाहा होला भनी जवाफ दिएछन् । छक्क पर्दै महादेवले मलाई पनि तिमीले हुनसक्छौ त ? भनि प्रश्न गरे । तब शनिले जवाफमा हजुरलाई पनि हुने समय आउनै लागेको छ, यो समयमा म आउने छु र हजुरलाई हुनेछ भनी जानकारी दिएर गएछन् ।

यसरी शनिले महादेवलाई दिन र समय तोकेर साढेसात शनि लाग्ने र हुन आउने जानकारी दिएर गएपछि भने महादेवलाई फसाद पर्यो । अब शनिले हुन आउने दिन गन्तीगर्दै महादेव पनि चिन्तित भएर बस्न थाले । शनिले छुन आउने दिनको अघिल्लो दिनमै महादेवले कैलाशबाट अन्तरध्यान भएर मर्त्य मण्डलको काठमाडौंमा सुरक्षित भई लुकेर बस्ने ठाउँ खोज्न थाले ।

त्यतिबेलाको काठमाडौंमा किसान ज्यापुको मात्र बस्ती थियो । घरपनि ससाना काँचो ईटाले बनेका र परालको छानो भएका मात्र थिए । जताततै फोहोरै फोहोरको डंगुर देखेर महादेव पनि एउटा फोहोरको डंगुरभित्र लुक्न पुगेछन् । यसरी लुकेर बसेका महादेवले हरेक महिना त्यहाँका मानिसले बाटोमै भोजभतेर गरिरहेको देखेर अचम्म मानेछन् । आफू पनि मानिसकै रुप लिएर भोज खानेसँगैको पंक्तिमा बसी भोज खान थालेछन् ।

जाँड-रक्सी, छ्वयला, कचिला, राँगाको मासुको कवाफ आदि भोजमा जेजे दियो सबै खाएर महादेव तृप्त हुन थालेछन् । एवमरीतले महादेवले नेवारी भोज खान थालेको वर्षौं बितेछ ।

त्यसबेलाको समयमा आफन्त र पाहुनालाई भोज खान बोलाउँदा घरमा नअट्ने भएकाले घर अगाडीकै सडकमा दोहोरो पंक्तिमा लामो सुकुल ओछ्याएर सबैलाई बसाई भोज खुवाउनु पर्थ्यो । ससाना घर, यसमा पनि कोठाचोटा, भर्याङमा समेत अन्नले भरिएका बोराहरु राखिएका हुन्थ्यो ।

त्यसैले सडकमै भोज खुवाउने गरिन्थ्यो । शनिले छुन आउला भनी लुकेर बसेका महादेव फोहोरको डंगुरबाट निस्कंदै स्थानीय मानिसकै रूप लिएर भोजखान पल्केका महादेवलाई स्थानीय दुई युवाहरुले देखिरहेका थिए । तर जो कोही होस्, भनी वास्ता गरेका थिएनन् । नेवारहरुको भोजमा जो कोही चनिनेका मानिसले पनि भोज खान आएमा केही नभन्ने चलन छ । यसरी महादेवको नेवारको भोज खाँदाखाँदा सात वर्ष बितिसकेछ ।

ती दुई युवाले जहिले पनि भोजमा आइरहेका महादेवलाई यो खेंचा जस्तो छ, जहिले पनि हाम्रो भोज खान आइरहन्छ, यो कहाँको मान्छे होला ? अब त चियो गर्नुपर्यो भन्ने विचारले भोज खाइसकेपछि महादेवको पिछा गरेछन् । मान्छेको रुप लिएका महादेवलाई पिछा गर्दै गरेका ती युवाहरू अचम्ममा परे । त्यो मान्छे फोहोरको डंगुरभित्र पस्यो र त्यहिँ हरायो ।

ती युवाले फोहोरको डंगुर हटाई भुइँमा खोस्रेर हेर्छन् त यहाँ शिवलिङ पो देखियो । यिनी त महादेव पो रहेछन् भनेर ती युवाहरुले भने पछि सबैले उक्त महादेवको पूजा गरे ।

त्यो दिन पाहाँ चःहे अर्थात् पिशाच चतुर्दशी परेको रहेछ । त्यही दिन महादेव त्यहाँ लुकेर बसेको साढे सात वर्ष पूरा भएको रहेछ ।
सोही दिन शनि आएर महादेवको दर्शन गरेछन् । अनि महादेवले शनिलाई सोधेछन्, खोई तिमीले मलाई छोएको ?

शनिले पनि जवाफ दिएछन्, ‘मैले त हजुरलाई उहिँ दिनका छोइसकेको थिएँ, जुनदिन हजुर यहाँ लुक्न आउनुभएको थियो । शनिको जवाफ सुनेर महादेव लज्जित भएर अन्तर्ध्यान भई कैलाशमा गए । यता त्यस फोहोरको डंगुरभित्र महादेव शिवलिङ्गको रुपमा सिद्ध भई बसेकाले हरेक वर्ष पिशाच चतुर्दशीका दिन नेवारले लुकुमहाघः लुकेर बसेका महादेव को पूजा गर्दै आइरहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न टोल, दोबाटो, चौबाटो र गल्लीगल्लीमा समेत जमिन मुनी गाडेरको स्थापना गरिएका थुप्रै शिवलिङ्गहरु छन् ।